विभिन्न बहानामा यात्रुलाई ठगी गर्ने ट्याक्सीचालक माथिको कारबाहीलाई महानगरीय ट्राफिक प्रहरी महाशाखाले तीव्रता दिएको छ ।
यात्रुसँग बढी भाडा लिने, मिटरमा जान नमान्ने, ट्याक्सीको मिटर बिगार्ने र बिग्रेको मिटर समेत समयमा नबनाउने ५३ ट्याक्सी चालकलाई महाशाखाले मंगलबारै कारबाही गरेको छ । महाशाखाले सोमबार पनि उपत्यकाका विभिन्न स्थानबाट कानुनविपरीतका कार्य गरी यात्रु ठग्ने ६७ ट्याक्सी चालकलाई कारबाही गरेको थियो ।
यात्रुसँग भाडा बार्गेनिङ गर्ने ट्याक्सी चालकलाई ट्राफिक प्रहरीले ‘हाउमच’ अभियान सञ्चालन गरेरै कारबाही गर्ने गरेको छ । ‘हाउमच’ अभियानमा कारबाहीमा पर्ने ट्याक्सी चालकलाई प्रत्येक पटक प्रहरीले ३ हजार रुपैयाँ जरिवाना गर्ने गरेको छ ।
५ पटकभन्दा बढी ‘हाउमच’ कारबाहीमा पर्ने ट्याक्सी चालकको सवारी चालक अनुमतिपत्र निलम्बनका लागि यातायात व्यवस्था कार्यालयमा सिफारिस गर्ने गर्ने महाशाखाले जनाएको छ ।
मिटरमा जान नमान्ने, ट्याक्सीको मिटर बिगार्ने र बिग्रेको मिटर समेत समयमा नबनाउने ट्याक्सी चालकलाई भने ५ सयदेखि १ हजार ५ सय रूपैयाँसम्म जरिवाना गर्ने गरेको छ । प्रहरीले उपत्यकाका विभिन्न स्थानमा नियमित अनुगमन गरी कसुर फेला परेका ट्याक्सी चालकलाई कारबाही गर्दै आएको छ ।
ट्याक्सी प्रयोग गर्दा बढी भाडा लिने, मिटरमा जान नमान्ने, यात्रुले चाहेको स्थानमा जान नमानेमा तत्काल खबर गर्न समेत महाशाखाले आग्रह गरेको खबर राससले प्रेषित गरेको छ ।