पूर्वप्रधानमन्त्री एवं नेपाल कम्युनिस्ट पार्टी (नेकपा) का अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’ ले महिला पत्रकारहरुलाई आरक्षणको आस गरेर नबस्न बरु क्षमता र योग्ताको विकास गर्न सुझाव दिएका छन् ।
हिजो राज्यले गरेको विभेदको क्षतिपूर्तिका रुपमा महिलाको सशक्तीकरणका निम्ति समानुपातिक प्रतिनिधित्वको व्यवस्था संविधानमा गरिएको बताउँदै उनले सबै महिला यसैमा भर परिराख्नु समस्याको समाधान नभएको बताए । नेपाल पत्रकार महासङ्घको महिला विभागले बिहीबार पटिहानीमा आयोजना गरेको पत्रकार महिलाको राष्ट्रिय सम्मेलनलाई सम्बोधन गर्दै अध्यक्ष प्रचण्डले आरक्षण प्राप्त गर्नेतर्फ ध्यान केन्द्रित नगरी आफूलाई योग्य सावित गर्नेतर्फ महिला केन्द्रित हुनुपर्ने बताए ।
आरक्षणले क्षमतामा अवरोध सिर्जना गर्ने भन्दै योग्यता विकास गर्न उनले सुझाव दिए । पत्रकार महिलालाई इङ्गित गर्दै प्रचण्डले भने– ‘तपाईंहरु नेतृत्व तहमा नै आउँदै हुनुहुन्छ, अध्यक्ष बन्नुपर्छ, त्यसलार्इ अब महिलामुक्ति आन्दोलनका रुपमा लिनुपर्छ ।’ आफूहरु इतिहासको महत्त्वपूर्ण क्षणमा रहेको भन्दै उनले भने– ‘हाम्रा अगाडि अवसर छ, धेरै वर्षको मेहनत र वलिदानबाट प्राप्त यो अवसरलाई सदुपयोग गर्नुपर्छ ।’ सबै वर्ग, क्षेत्र, समुदायको एकता नभएको भए अहिलेको राजनीतिक परिवर्तन सम्भव हुने थिएन भन्दै यसलाई कार्यान्वयन गर्नु नै अहिलेको चुनौती भएको उनले बताए ।
राष्ट्रको एकतालाई अझ मजबुद बनाउनुपर्ने बताउँदै उनले भने– ‘एकतालाई अझ मजबुत कसरी पार्ने, प्रगतिशील परिवर्तनलाई कसरी संस्थागत रुपले कार्यान्वयन गर्ने र समृद्धिको यात्रालाई कसरी अगाडि बढाउने भन्ने विषयमा सोच्ने बेला आएको छ ।’
कार्यक्रममा महिला बालबालिका तथा ज्येष्ठ नागरिकमन्त्री थममाया थापाले पुरुष पुग्ने ठाउँमा महिला पुग्न नसकेको भन्दै प्रतिस्पर्धी ढङ्गले काम गर्न पत्रकार महिलालाई आग्रह गरिन् । नेपाल पत्रकार महासङ्घका केन्द्रीय अध्यक्ष गोविन्द आचार्यले पत्रकार महिलालाई नेतृत्वमा ल्याउन आफूहरु सहयोगी बन्ने बताए ।
प्रेस चौतारी नेपालका अध्यक्ष गणेश बस्नेत र प्रेस युनियनका वरिष्ठ उपाध्यक्ष दीपक आचार्यले पत्रकारिता क्षेत्रमा महिलाको सहभागिता बढ्दो रहेको भन्दै महिलालाई अघि बढाउन सबैले साथ र सहयोग गर्नुपर्ने बताए । नेपाल पत्रकार महासङ्घ, महिला विभागकी प्रमुख लक्ष्मी पुनको अध्यक्षतामा भएको कार्यक्रममा सञ्चारिका समूहकी पूर्वअध्यक्ष बबिता बस्नेत, भरतपुर महानगरपालिका– २२ का वडाअध्यक्ष विष्णुराज महतो, नेपाल पत्रकार महासङ्घ चितवनका अध्यक्ष राधेश्याम खतिवडालगायतले पनि कार्यक्रमलाई सम्बोधन गरे ।
अगुवा पत्रकार महिलालाई सम्मान गरिएको यस भेलामा पत्रकार महिलाको वर्तमान अवस्था, समस्या र समाधान विषयमा व्यापक छलफल गरी निष्कर्ष निकालिनेछ । कार्यक्रममा देशभरका पत्रकार महासङ्घका शाखा, केन्द्रीय समिति, प्रतिष्ठान, प्रदेश समितिका महिला नेतृत्व र केन्द्रीय समितिका पूर्वनेतृत्वको सहभागिता छ । भेलामा दुई सयभन्दा बढी पत्रकार महिला सहभागी छन् । घोषणापत्र जारी गर्दै भेला बिहीबार साँझ नै सम्पन्न हुने बताइएको छ । समाचार/तस्बिरः रासस