सत्ताधारी नेपाल कम्युनिस्ट पार्टी (नेकपा) को केन्द्रीय सचिवालयको बैठक सोमबार बस्ने भएको छ ।
बैठक प्रधानमन्त्री निवास बालुवाटारमा सोमबार बिहान १० बजेका लागि बोलाइएको छ ।
लामो समयपछि बस्न लागेको सचिवालयको बैठकमा समसामयिक विषय र पार्टी एकताका बाँकी कामका विषयमा छलफल हुने अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’ को सचिवालयले जनाएको छ । पार्टी एकताका विषयमा बाँकी विषय टुङ्ग्याउनका लागि ठोस सुझाव दिन गठित कार्यदलले प्रतिवेदन तयार पार्ने क्रममा रहेको सन्दर्भमा बैठक बोलाइएको हो ।
पुस १२ मा सम्पन्न स्थायी समितिको बैठकले पार्टी एकताका विषयमा बाँकी काम टुङ्गो लगाउन ९ सदस्यीय कार्यदल बनाएको थियो । सो कार्यदलले केही विषयमा सहमति गरे पनि केही विषयमा भने सहमति जुटाउन बाँकी रहेको खबर राससले प्रेषित गरेको छ ।