महानगरीय प्रहरी कार्यालय रानीपोखरीले काठमाडौं उपत्यकाबाट १ लाख ३७ हजार ६ सय २० लिटर घरेलु मदिरा (रक्सी) नष्ट गरेको छ ।
चालू आर्थिक वर्षको अहिलेसम्म काठमाडौं उपत्यकाका विभिन्न स्थानबाट बजार लैजानका लागि तयार पारिएको उक्त परिणामको घरेलु मदिरा नष्ट गरेको हो । कार्यालयले काठमाडौंबाट १ लाख २६ हजार लिटर, ललितपुरबाट ७ हजार ३ सय ६० लिटर र भक्तपुरबाट ४ हजार २ सय ६० लिटर घरेलु मदिरा बरामद गरी नष्ट गरेको हो ।
समाजमा हुने धेरै घटना घरेलु मदिराका कारण भएको भन्दै कार्यालयले घरेलु मदिरा नियन्त्रणका लागि विशेष अभियान चलाएको जानकारी कार्यालयकी प्रवक्ता एवं प्रहरी वरिष्ठ उपरीक्षक पूजा सिंहले दिइन् ।
‘समाजमा हुने हत्या–हिंसा, बलात्कार, झैझगडा मदिराका कारण नै हुने गरेको हो’– उनले भनिन् । मदिरा सेवनका कारण अपराधका घटना बढेको भन्दै प्रहरीले घरेलु मदिरा उत्पादन तथा बिक्री–वितरणमा रोक लगाउँदै आएको छ ।
कार्यालयले घरेलु मदिरा बनाउनका लागि प्रयोग हुने १ लाख २१ हजार ५ सय ७५ केजी कच्चा पदार्थ समेत नष्ट गरेको छ । नष्ट गरिएका सामग्रीमा काठमाडौंबाट १ लाख १८ हजार २ सय ५५ र ललितपुरबाट ३ हजार ३ सय २० रहेको खबर राससले प्रेषित गरेको छ ।
यसरी जनताले सामान्य रोजीरोटी समेत जुटाउने गरी तयार पारेको मदिरा नष्ट गर्ने प्रहरीले विदेशबाट आयातीत र ठूलठूला उद्योग–कारखानाबाट उत्पादित मदिरालाई भने निर्वाध रुपमा बिक्री–वितरण र उपभोग गर्न दिइरहेको छ । केही हजार लिटर घरेलु मदिराले भन्दा लाखौं–करोडौं लिटरको खोलो नै बगाइएको यसखाले मदिराले चाहिँ निकै ठूलो जनधनको क्षति पुर्याए पनि सरकार र सुरक्षा निकायले यसतर्फ पूरै आँखा चिम्लिइरहनु उदेकलाग्दो भएको छ ।