newskoseli.Com

धुम्बाराहीमा ‘जनआन्दोलन र जनयुद्धका सहिदप्रति श्रद्धाञ्जलि’ कार्यक्रम : के–के बोले प्रचण्डले ?

२४औं जनयुद्ध दिवसको अवसरमा सत्ताधारी नेपाल कम्युनिस्ट पार्टी (नेकपा) ले आयोजना गरेको ‘जनआन्दोलन र जनयुद्धका सहिदप्रति श्रद्धाञ्जलि’ कार्यक्रममा सो पार्टीको धुम्बाराहीस्थित केन्द्रीय कार्यालयमा सम्पन्न भएको छ ।

प्रमुख अतिथिका रुपमा कार्यक्रमलाई सम्बोधन गर्दै नेकपाका एक अध्यक्ष एवं दसवर्षे जनयुद्धका मुख्य नेता पुष्पकमल दाहाल ‘प्रचण्ड’ ले सहिदप्रति श्रद्धाञ्जलि कार्यक्रम पार्टी एकतामा थप ऊर्जा प्राप्त गर्ने अवसर बनेको बताए । ‘पार्टी एकताको सिलसिलामा जनसङ्गठनहरूको एकता ढिलो भइरहेका बेला कार्यकर्तामा के होला–कसो होला भनेर बेलाबेलामा चिन्ता प्रकट हुने गर्दथ्यो,’ उनले भने– ‘हामी अबको केही दिनभित्र पार्टी एकता पूरा गर्न लागिरहेका छौं । केही दिनभित्र पार्टी एकता र जनसङ्गठनको एकतालाई टुङ्ग्याएर एउटा राष्ट्रव्यापी अभियानमा अगाडि बढ्ने छौं ।’

पार्टी एकता सफल पार्न एक–दुई जना नेता मात्र नभएर सबै नेता–कार्यकर्ता लाग्नुपर्ने धारणा उनले प्रकट गरे । पार्टी वैचारिक र राजनीतिक रुपमा नयाँ चरणमा प्रवेश गरेको उल्लेख गर्दै भावनात्मक रुपमा अलग–अलग धारमा अगाडि बढेका नेता–कार्यकर्तालाई यस्ता कार्यक्रमले एक ठाउँमा ल्याउने उनले बताए ।

जेठ ३ र फागुन १ लाई वैचारिक राजनीतिक एकता सुदृढ गर्ने र आफूभित्र साङ्गठनिक–भावनात्मक एकता मजदुत बनाउने अवसरका रुपमा लिनुपर्ने उनले बताए । सबै राजनीतिक दलको सहमति र सहकार्यबाट मुलुकलाई छिटोभन्दा छिटो विकासका राम्रा काम गरेर जनताको सपना पूरा गर्नुपर्ने समेत अध्यक्ष प्रचण्डले बताए ।

एकताबद्ध हुन नसकेका कम्युनिस्टलाई पनि अहिलेको पार्टी एकतामा गोलबद्ध हुन पूर्वप्रधानमन्त्री समेत रहेका अध्यक्ष प्रचण्डले आग्रह गरे । कम्युनिस्ट समूहलाई मात्र नभएर नेपाली काङ्ग्रेस र मधेशकेन्द्रित सबै पार्टीसँग विकास र समृद्धिको एजेन्डामा सहकार्य गरौं भन्दै नेपाली जनताले राजनीतिक स्थिरताका लागि निकै ठूलो बलिदान गरेको हुनाले अब एक भएर विकास र समृद्धि यात्रामा अगाडि बढ्न समेत उनले आह्वान गरे ।

‘हामी सबै एक ठाउँमा आएर नै ठूलठूला राजनीतिक परिवर्तन हासिल गरेका हौं,’ उनले भने– ‘अहिले हामी सबैको एजेन्डा समृद्ध नेपाल र विकसित नेपाल हो, देशलाई निरन्तर अगाडि बढाउन देशमा रहेका सबै राजनीतिक शक्तिसँग सहमति र समझदारीको आवश्यकता छ ।’ सबै खालका भ्रम–विभ्रम छाडेर मुलुकलाई साकार पार्ने दिशामा लाग्न हिजो विभिन्न जनआन्दोलनमा सहभागी सबै पार्टीलाई अध्यक्ष प्रचण्डले आह्वान गरे ।

लोकतान्त्रिक तरिकाले कम्युनिस्ट पार्टीको एकता र दुईतिहाइको लोकप्रिय बहुमतले प्राप्त गरेकाले कम्युनिस्टका लागि योभन्दा ठूलो र युगान्तकारी परिवर्तन केही हुन नसक्ने दावी समेत उनले गरे । मुलुकको विकासका लागि अहिलेको भन्दा अर्को विकल्प नभएकाले अहिलेको बाटोले मात्र समाजवाद र सामाजिक न्यायतिर जान सक्ने उनले जिकिर गरे । ‘तपार्इं–हामीले देखेका सपना यही बाटोबाट मात्र पूरा गर्न सक्दछौं त्यसैले सबै राजनीतिक दल मिलेर नै सहिदका सपना पूरा गर्दै र नयाँ गोरेटो बाटो हुँदै नेपाललाई अगाडि लैजान सक्दछौं ।’

शान्तिपूर्ण संसदीय प्रक्रियाका माध्यमबाट कम्युनिस्टलाई लोकप्रिय बनाउने र जनयुद्धका रुपमा कम्युनिस्ट आन्दोलनलाई बलियो पार्दै उत्पीडित जनता निम्ति हक–अधिकारको लडाइँ अगाडि बढाउने विगतका दुई धार अहिले एक भएर नै वर्तमान कम्युनिस्ट आन्दोलन बनेको जिकिर अध्यक्ष प्रचण्डले गरे ।

शान्तिपूर्ण प्रतिस्पर्धाका माध्यमबाट कम्युनिस्ट आन्दोलन र जनतालाई समृद्धि र मुक्तिको दिशातिर अगाडि बढाउने प्रक्रियाको नेतृत्व गर्ने मदन भण्डारीलाई सम्झँदै उहाँकै स्मृतिमा दुई धारबीच एकता गरेको प्रचण्डले उल्लेख गरे । विभिन्न प्रतिक्रान्तिकारी शक्तिले अनेकौं षड्यन्त्रमार्फत कम्युनिस्ट पार्टीलाई कमजोर पार्न नेताहरुबीच फाटो ल्याउने, अविश्वास बढाउनेजस्ता विभिन्न कसरत गरिरहेको उनले बताए । प्रतिक्रियावादीको उक्साहटमा नलागी कम्युनिस्ट आन्दोलनलाई एकजुट बनाउनुपर्नेमा उनले जोड दिए ।

‘प्रतिक्रियावादीले यो कम्युनिस्ट पार्टी राम्रोसँग अगाडि नबढोस् र विभाजित होस्, कम्युनिस्टको प्रभाव घटोस्, यसको नेतृत्वमा विकास र समृद्धि नहोस् भनेर चाहेका छन्,’ उनले भने– ‘जताततै कम्युनिस्ट आन्दोलन रक्षात्मक भएका बेला नेपालमा लोकतान्त्रिक ढङ्ग, आक्रमण ढङ्ग र नयाँ तरिकाले कम्युनिस्टहरु अगाडि आएकाले उनीहरुले यसलाई ध्वस्त पार्न सम्भव देखेका छैनन् ।’

अहिलेको कम्युनिस्ट आन्दोलन लोकतान्त्रिक तरिकाले बलियो भएर आएको हुनाले पहिले जस्तो, कयौं देशमा जस्तो हजारौं–लाखौंलाई कत्लेआम गरेर नेपालको कम्युनिस्ट आन्दोलन ध्वस्त पार्न नसकिरहेको दावी उनले गरे । ‘हामी प्रतिक्रियावादी र अवसरवादीको उक्साहटमा आउने छैनौं, कसैले माया गरेर र दया गरेर पनि हामीलाई यो पार्टी एकता दिएको होइन,’ उनले भने– ‘हाम्रै महान् सहिदहरुको त्याग र जनताको क्रान्तिकारी बलले पार्टी एकता गरेका हौं ।’

आफूहरुले १९औं शताब्दी र २०औं शताब्दीका क्रान्ति र प्रतिक्रान्तिका अनुभवहरुको समेत समीक्षा र लेखाजोखा गरेर अबको २१औं शताब्दीका लागि समाजवाद निर्माणको नयाँ ढाँचा खोजी गरिरहेको उनले बताए । नेपाल गरिब र पछौटे मुलुक भए पनि राजनीतिक दृष्टिमा यहाँ गरिएका कामलाई संसारले ध्यानपूर्वक हेरेको भन्दै साना शक्ति मात्र होइन, सबै खालका शक्तिले नेपालमा के भइरहेको छ र के हुन थालेको छ भनेर हेर्न थालेको उनले बताए ।

सोही कार्यक्रममा बोल्दै नेकपामा महासचिव विष्णु पौडेलले संविधानमार्फत समाजवादको आधारशिला निर्माण गरेकाले अब सहिदको सपना पूरा गर्न समाजवाद ल्याइने बताए । कार्यक्रममा जनयुद्ध र सुखानीका सहिदप्रति अध्यक्ष प्रचण्डसहित महासचिव पौडेल, स्थायी कमिटीका सदस्य सुभाषचन्द्र नेम्बाङ, भीम रावललगायतले श्रद्धाञ्जलि व्यक्त गरेको खबर राससले प्रेषित गरेको छ ।

मिति परिवर्तन गर्नुहोस् [Date Converter]–


Powered by © nepali date converter

फेसबुकबाट न्युजकोसेलीसँग जोडिनुहोस्–

आजको विनिमय दर