newskoseli.Com

उपत्यकासहित देशभर वर्षा र हिमपातको सम्भावना

पश्चिमी वायुको प्रभावले काठमाडौं उपत्यकासहित देशभर मौसम बदली हुनाका साथै केही भूभागमा वर्षा र हिमपातको सम्भावना रहेको छ ।

पश्चिमी वायुको नयाँ प्रणालीको विकासले फेरि देशभरिको मौसम प्रभावित भएको जल तथा मौसम पूर्वानुमान महाशाखाका मौसमविद् समीर श्रेष्ठले बताएका छन् । ठूलो वर्षाको सम्भावना नरहे पनि अधिकांश भूभागमा छिटफुट र मध्यम खालको वर्षाको सम्भावना रहेको श्रेष्ठले बताए । शनिबार बेलुकादेखि मौसममा क्रमशः सुधार हुँदै जाने बताइएको छ ।

शुक्रबार राति देशभर मौसम बदली हुनुका साथै पश्चिमी भूभागका अधिकांश स्थान र मध्य तथा पूर्वी क्षेत्रका केही स्थानमा हल्का वर्षाको सम्भावना रहेको महाशाखाले जनाएको छ । देशका उच्च पहाडी तथा हिमाली भेगमा हल्कादेखि मध्यम हिमपातको सम्भावना छ ।

शनिबार देशका अधिकांश भूभागमा सामान्यतया मौसम बदली रही पश्चिमी भेग र पूर्वी तथा मध्य पहाडी भूभागका केही स्थानमा हल्का वर्षाको सम्भावना रहेको महाशाखाले जनाएको छ । आइतबार देशको पूर्वी तथा मध्य पहाडी भूभागमा आंशिक बदली रही बाँकी भूभागमा मौसम सामान्यतया सफा रहने महाशाखाले जनएको छ ।

महाशाखाको पछिल्लो विवरणअनुसार शुक्रबार काठमाडौंको अधिकतम तापक्रम १९ दशमलव ६ डिग्री र न्यूनतम तापक्रम ९ दशमलव ६ डिग्री सेल्सियस मापन गरिएको छ । धनकुटाको तापक्रम माइनसमा झरेको छ । सबैभन्दा बढी विराटनगरको अधिकतम तापक्रम २७ दशमलव ५ डिग्री सेल्सियस रहेको खबर राससले प्रेषित गरेको छ ।

मिति परिवर्तन गर्नुहोस् [Date Converter]–


Powered by © nepali date converter

फेसबुकबाट न्युजकोसेलीसँग जोडिनुहोस्–

आजको विनिमय दर