प्रधानमन्त्रीको सरकारी निवास बालुवाटारमा बिहीबार बसेको सत्ताधारी नेपाल कम्युनिस्ट पार्टी (नेकपा) को केन्द्रीय सचिवालयसहित एकता कार्यदलको संयुक्त बैठक अनिर्णित भएको छ ।
संगठनात्मक एकताका बाँकी काम टुंग्याउन गठन भएको कार्यदलको म्याद थप्ने वा विघटन गरिदिने भन्ने विषयमा सचिवालयभित्रै विवाद भएपछि बैठक कुनै पनि निर्णयमा पुग्न नसकेको एक नेताले न्युजकोसेलीलाई बताए । ती नेताका अनुसार बैठकमा कार्यदलका तर्फबाट संयोजक एवं सचिवालयका सदस्य रामबहादुर थापा ‘बादल’ ले कार्यदलको समय केही दिन थप गर्न प्रस्ताव राखे । यस विषयमा सचिवालयका सदस्यहरुको मत बाझिएपछि कुनै सहमति जुट्न सकेन ।
संयोजक बादलसहित कार्यदलका सबै सदस्यले एकताको गृहकार्यसम्बन्धी बाँकी काम सम्पन्न गर्न थप केही समय आवश्यक परेको भन्दै समय थप्न सचिवालयसँग आग्रह गरेको जानकारी कार्यदलका सदस्य योगेश भट्टराईले दिएका छन् । प्रवक्ता नारायणकाजी श्रेष्ठले भने कार्यदलको म्याद थप्ने वा विघटन गर्ने भन्नेबारे छलफल भए पनि कुनै निर्णय नभएको जानकारी दिएका छन् । यस विषयमा थप छलफल गरी निर्णय गर्नका निम्ति बैठक शुक्रबार पनि बोलाइएको जानकारी उनले दिए ।
स्रोतका अनुसार कार्यदलको म्याद थप्न अध्यक्ष एवं प्रधानमन्त्री केपी शर्मा ओली सकारात्मक छैनन् । बैठकमा ओलीले कार्यदल विघटन गर्न प्रस्ताव राखेकामा सचिवालय सदस्य इश्वर पोखरेलले मात्र त्यसको समर्थन गरेको स्रोतको भनाइ छ । कार्यदलका सदस्य समेत रहेका महासचिव विष्णु पौडेल पनि कार्यदलको म्याद थप्ने पक्षमै देखिएका छन् ।
अर्का अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’, वरिष्ठ नेताहरु माधवकुमार नेपाल तथा झलनाथ खनाल, वामदेव गौतमसहित सचिवालयका बाँकी सदस्यहरु कार्यदललाई आफ्नो काम पूरा गर्ने समय उपलब्ध गराउनुपर्ने पक्षमै उभिएका छन् ।
गृहमन्त्री बादल संयोजकत्वको कार्यदलमा महासचिव विष्णु पौडेलसहित स्थायी समितिमा सदस्यहरु शंकर पोखरेल, सुरेन्द्र पाण्डे, वर्षमान पुन, लेखराज भट्ट, योगेश भट्टराई, बेदुराम भुसाल र रघुवीर महासेठ सदस्य छन् ।