newskoseli.Com

बीपी राजमार्गमा ‘गति सीमित सूचना पाटी’ : नटेर्नेलाई ५ सयदेखि १५ सयसम्म जरिवाना !

निरन्तर सवारी दुर्घटना बढेपछि न्यूनीकरण गर्न आइतबार सिन्धुलीको धुरा बजार क्षेत्रमा ‘गति सीमित सूचना पाटी’ राखिएको छ । जिल्ला ट्राफिक प्रहरी कार्यालय सिन्धुलीको प्रयास र कमलामाई नगरपालिका– ६ वडा कार्यालयको सहयोगमा गति सीमित सूचना पाटी राखिएको हो ।

धुरा बजारको सिरानदेखि ग्वाङ खोलाको पुलसम्म २० वटा गति सीमित सूचना पाटी राखिएको जिल्ला ट्राफिक प्रहरी कार्यालय सिन्धुलीले जनाएको छ । सिधा सडक भएकाले तीव्र गतिका कारण दुर्घटना बढेको भन्दै न्यूनीकरण गर्न यस्तो अभियान सुरु गरिएको कार्यालयले जनाएको छ ।

जिल्ला प्रहरी कार्यालय सिन्धुलीका प्रहरी उपरीक्षक चक्रबहादुर सिंह र वडा नं. ६ का वडाध्यक्ष उज्ज्वल थापाले सडकको बीचमा अधिकतम गति ३० कि.मि. लेखिएको सूचना पाटी राखेर यस कार्यको शुभारम्भ गरे । बजार क्षेत्रमा दैनिकजसो दुर्घटना हुने गरेको र अधिकांश दुर्घटना तीव्र गतिका कारण हुने गरेको जिल्ला ट्राफिक प्रहरी कार्यालय सिन्धुलीका प्रमुख विष्णु बस्नेतले जानकारी दिए । सडकको बीचमा राखिएका गति सीमित सूचना पाटीलाई रातको समयमा झिक्न र बिहान पुनः सडकको बीचमा राख्न उनले आग्रह गरे ।

धुराबजार क्षेत्रका हरेक ३०–३० मिटरमा गति सीमित सूचना पाटी राखिएको र अधिकतम गति ३० भन्दा माथि हुने सवारी साधनलाई कारबाही गर्ने जिल्ला ट्राफिक प्रहरी सहायक निरीक्षक रामेश्वर पाण्डेले बताए । प्रहरीले गति मापन गर्ने र तीव्र गति रहेको पाइए ५ सयदेखि १ हजार ५ सय रुपैयाँसम्म जरिवाना गरिने उनको भनाइ छ । बजार क्षेत्रमा दुर्घटना न्यूनीकरण गर्न अन्य बजार क्षेत्रमा समेत यस्ता बोर्ड राखी बजारलाई दुर्घटनामुक्त बनाइने उनको भनाइ छ ।

ट्राफिक प्रहरीले गति सीमित बोर्ड राखेपछि धुरावासीले सुरक्षित महसुस गरेको स्थानीयवासी जयमान तामाङले बताए । सिन्धुलीका बजारमा तीव्र गतिका कारण दुर्घटना बढेको भन्दै प्रहरीले दुर्घटना न्यूनीकरणका उपाय अपनाइरहेको छ । बजार क्षेत्रमा दुर्घटनाको उच्च जोखिम रहेको भन्दै त्यस्ता स्थानमा गति सीमित गराउन ट्राफिक प्रहरीले सक्रियता देखाएको खबर राससले प्रेषित गरेको छ ।

मिति परिवर्तन गर्नुहोस् [Date Converter]–


Powered by © nepali date converter

फेसबुकबाट न्युजकोसेलीसँग जोडिनुहोस्–

आजको विनिमय दर