संस्कृति, पर्यटन तथा नागरिक उड्डयनमन्त्री रवीन्द्रप्रसाद अधिकारीसहित सवार एयर डाइनेष्टीको हेलिकप्टर बुधबार ताप्लेजुङको मयम, तारेभीरमा दुर्घटना हुँदा मन्त्री, पाइलटसहित हेलिकप्टरमा सवार सातै जनाको निधन भएको छ ।
गृह मन्त्रालयले पत्रकार सम्मेलन गरी सो हेलिकप्टरमा सवार मन्त्री अधिकारीसहित छ यात्रु र क्याप्टेनसहित सात जनाको मृत्यु भएको औपचारिक जानकारी गराएको छ । मन्त्रालयका प्रवक्ता रामकृष्ण सुवेदीका अनुसार मन्त्री अधिकारीसहित सवार छ र क्याप्टेन गरी सात जनाको शव फेला परेको छ ।
मन्त्री अधिकारीको शव चिन्न सकिने अवस्थामा छ भने मन्त्रीका पीएसओ नेपाली सेनाका जमदारको शव पनि चिनिएको छ । बाँकी शव चिन्न सकिने अवस्थामा छैनन् । शव ल्याउनका लागि नेपाली सेनाको एमआई– १७ र बेल हेलिकप्टर उडिसकेको समेत प्रवक्ता सुवेदीले जानकारी दिए ।
प्रवक्ता सुवेदीका अनुसार दुर्घटना भएको स्थान विकट भएकाले शव हेलिकप्टरसम्म ल्याउन डेढदेखि दुई घन्टा लाग्ने छ । मन्त्री अधिकारी सहितको टोली तेह्रथुमको चुहानडाँडामा आयोजित कार्यक्रम सकेर ताप्लेजुङको पाथीभरा दर्शन गरेर फर्कने क्रममा मन्दिरबाट उडेको एक मिनेटमै डेढ किलोमिटर पर दुर्घटना भएको थियो । शव लिन गएको हेलिकप्टर दुर्घटनास्थल तारेभीरमा पुगिसकेको छ । रासस