newskoseli.Com

फेरि ३ दिनसम्म वर्षा र हिमपात : शिवरात्रि समेत प्रभावित हुने !

फाइल तस्बिर

पश्चिमी वायुको प्रभावले मौसममा सामान्यदेखि पूर्ण बदली भई सोमबारदेखि ३ दिनसम्म वर्षा र हिमपातको सम्भावना रहेको मौसम पूर्वानुमान महाशाखाले जनाएको छ । सोमबार महाशिवरात्रिलाई समेत वर्षा र हिमपातले प्रभावित पार्न सक्ने देखिएको छ ।

महाशाखाले तीन दिनसम्मको मौसम पूर्वानुमानसम्बन्धी बुलेटिन निकालेर आइतबार राति देशका पूर्वी, मध्य र पश्चिमी क्षेत्रमा आंशिकदेखि सामान्य बदली रही पहाडी भेगका केही स्थानमा मेघ गर्जनसहित क्षणिक वर्षा र उच्च पहाडी तथा हिमाली क्षेत्रमा हिमपातको सम्भावना औंल्याएको हो ।

सोमबार र मङ्गलबार पनि पहाडी क्षेत्रको मौसममा आंशिकदेखि सामान्य बदली रही केही स्थानमा मेघ गर्जनसहित हल्का वर्षाको सम्भावना रहेको महाशाखाले प्रक्षेपण गरेको छ । प्रि–मनसुन सुरु भएको र पश्चिमी वायु कमजोर बन्दै गएकाले ठूलो वर्षाको सम्भावना भने नरहेको महाशाखाका मौसमविद समीर श्रेष्ठले जानकारी दिए ।

उनका अनुसार सोमबार मौसममा सामान्य सुधार आए पनि मङ्गलबार पश्चिमी वायुको प्रभाव बढी पर्ने देखिएको छ । बुधबारदेखि मौसममा क्रमिक रुपमा सुधार आउनेछ । महाशाखाको पछिल्लो विवरण अनुसार देशका अधिकांश स्थानमा हल्का वर्षा भएको छ ।

डडेल्धुरामा ७, वीरेन्द्रनगर र नेपालगञ्जमा ५–५, दाङ र भैरहवामा ४–४ तथा जोमसोममा ६ र लुम्लेमा ३ मिलिमिटर वर्षा भएको छ । आइतबार काठमाडौंको न्यूनतम तापक्रम ६.८ र अधिकतम तापक्रम २०.५ डिग्री सेल्सियस रहेको खबर राससले प्रेषित गरेको छ ।

मिति परिवर्तन गर्नुहोस् [Date Converter]–


Powered by © nepali date converter

फेसबुकबाट न्युजकोसेलीसँग जोडिनुहोस्–

आजको विनिमय दर