नेत्रविक्रम चन्द ‘विप्लव’ नेतृत्वको नेपाल कम्युनिस्ट पार्टीका ३७५ नेता तथा कार्यकर्तालाई पक्राउ गरेको नेपाल प्रहरीले जनाएको छ ।
विभिन्न घटनामा संलग्न रहेको भन्दै प्रहरीले वैशाखदेखि फागुनसम्म उक्त सङ्ख्याका कम्युनिस्ट नेता–कार्यकर्ता पक्राउ गरेको हो । फागुनमा पक्राउ पर्नेमा ३३ पुरुष र ४ महिला छन् । फागुनमा पक्राउ परेकामध्ये धनकुटाबाट २, प्युठानबाट १, झापाबाट २, सर्लाहीबाट ३, पर्साबाट ३, अछाम, मोरङ, ललितपुर, सुनसरी र तेह्रथुमबाट १–१, इलामबाट ५ र सिन्धुपाल्चोकबाट १७ जना रहेको प्रहरीको भनाइ छ ।
पक्राउ परेकासँग चन्दा सङ्कलनको लेटरप्याड, सरकार विरुद्धका पर्चा–पम्पेट, सैन्य तालिम गराउने दस्तावेजलगायतका सामग्री बरामद गरिएको दावी प्रहरीले गरेको छ । राज्य विरुद्धका गतिविधि गर्ने व्यक्तिलाई नियन्त्रणमा लिएर अनुसन्धान भइरहेको दावी प्रहरी प्रवक्ता उत्तमराज सुवेदीले गरे ।
‘पक्राउ परेकामध्ये केहीलाई अनुसन्धान गरेर छाडेका छौं र केहीलाई विभिन्न कसुरअन्तर्गत मुद्दा चलाएका छौं’– उनले भनेको खबर राससले प्रेषित गरेको छ ।