लोकन्थलीबाट सानोठिमी निस्कने बाटोको नाट्यश्वरीमा मध्यपुरथिमि नगरपालिकाले भक्तपुरकै पहिलो दृश्यावलोकन स्तम्भ (भ्यु–टावर) निर्माण गर्ने भएको छ ।
त्यस क्षेत्रमा उपत्यकाका विभिन्न ठाउँ देख्न सकिने गरी तीन तलाको पहिलो दृश्यावलोकन स्तम्भ निर्माण गर्ने भएको नगरपालिका प्रमुख मदनसुन्दर श्रेष्ठले जानकारी दिएका छन् । स्तम्भबाट मनोहरा–दिव्यश्वरी क्षेत्रका वस्ती, एसओएस, अन्तर्राष्ट्रिय विमानस्थल, हिमाललगायत चारैतिरको दृश्यावलोकन गर्न सकिनेछ ।
त्यस क्षेत्रमा दृश्यावलोकन स्तम्भसँगै नाट्यश्वरी पार्क, मन्दिर, अपाङ्ग तथा बालमैत्री बगैंचा, आर्टिफिसियल रक क्लाइम्बिङ, व्यायाम गर्ने ठाउँ, शौचालयलगायतका पूर्वाधार निर्माण गरिने र निर्माण भइसकेको दुई तले सामुदायिक भवनको रङ्गरोगन तथा व्यवस्थापन गरिने भएको छ ।
यी सबैको निर्माण तीन वर्षमा सम्पन्न गर्ने योजना छ । करिव ७ करोड रूपैयाँको बजेटमा निर्माण सम्पन्न हुने यहाँका संरचना निर्माणका लागि नगरपालिकाले यस वर्ष ७५ लाख रूपैयाँ बजेट विनियोजन गरेको खबर राससले प्रेषित गरेको छ ।