newskoseli.Com

‘दोस्रो जनयुद्ध’ को झल्को ! रोल्पामा जताततै आगजनी, विष्फोट र बमको त्रास

बितेका तीन दिन रोल्पावासीको जनजीवन निकै त्रासदीमय भयो । जिल्लाका विभिन्न स्थानमा सवारी साधन तोडफोड र आगजनीदेखि बम विस्फोटनसम्मका घटनाले रोल्पालीलाई फेरि एक पटक दसवर्षे सशस्त्र जनयुद्धको झल्को दिलायो ।

बुधबार राति त्रिवेणी गाउँपालिकाका अध्यक्ष शान्तकुमार वलीले प्रयोग गर्दै आएको जिप तोडफोड प्रयासबाट सुरु भएको घटनाले बिहीबार रातिसम्म निरन्तरता पायो । तोडफोडबाट गाउँपालिकाका अध्यक्ष वलीले प्रयोग गर्दै आएका बा २ झ ३६५२ नम्बरको जिपको सिसा फुटेको छ । बुधबार राति गङ्गादेव गाउँपालिकाका अध्यक्ष वीरबहादुर खत्रीले प्रयोग गर्दै आएको भाडाको जिपमा समेत अज्ञात समूहले आगजनी गर्‍यो । आगजनीकै कारण उनले प्रयोग गर्दै आएको भे १ च २७८५ नम्बरको बलेरो जिप पूर्णरुपमा क्षतिग्रस्त भयो ।

बिहीबार राति अज्ञात समूहले गराएको आगजनीबाट त्रिवेणी गाउँपालिकाको स्काभेटर क्षतिग्रस्त भएको थियो । सडक निर्माणका लागि त्रिवेणी गाउँपालिका– २, नुवागाउँमा पार्किङ गरी राखेको अवस्थामा उक्त स्काभेटरमा अज्ञात समूहले आगजनी गर्‍यो । बिहीबार दिउँसो रोकीराखेको अवस्थामा माडी गाउँपालिका– २, घर्तीगाउँको मोटरसाइकलमा समेत आगजनी भयो । वडाध्यक्ष सुदीप घर्तीले प्रयोग गर्ने उक्त मोटरसाइकल पनि पूर्णरूपमा क्षतिग्रस्त भएको छ ।

बिहीबार दिउँसो नै रोल्पाको त्रिवेणी गाउँपालिका कार्यालय नजिकै वेवारिसे बम फेला पर्‍यो । जुगारस्थित गाउँपालिका कार्यालयदेखि ५० मिटर दुरीमा दुई बम फेला परेका थिए । रातो झोलाभित्र पोलिथिन ब्यागमा राखेको अवस्थामा उक्त बम फेला परेको थियो । विद्यार्थीले खेल्ने क्रममा उक्त शङकास्पद वस्तु देखेपछि स्थानीयवासीले प्रहरीलाई खबर गरेका थिए । प्रहरी समयमै घटनास्थल पुगेका कारण उक्त बमबाट मानवीय तथा भौतिक क्षति हुन पाएन । बेवारिसे अवस्थामा बम देखेपछि स्थानीयवासी त्रसित भएका थिए ।

रोल्पा सदरमुकाम लिबाङसिथत नेपाली काङ्ग्रेसको पार्टी कार्यालय नजिक दुई बम रहेको हल्ला फैलियो । प्रहरीले सर्च गर्दा सो ठाउँमा दुई ग्रिनेट बम फेला परे । नेपाली सेनाले बमलाई निष्क्रिय बनाएपछि सर्वसाधारणमा देखिएको त्रास कम भयो । रोल्पा नगरपालिका नजिकै रहेको नेपाली काङ्ग्रेसको जिल्ला पार्टी कार्यालयमा उक्त बम राखिए पनि सो बम नगरपालिकालाई लक्षित गरी राखिएको आशङ्का गरिएको छ । जिल्लामा पछिल्लो पटक घटेका सबै घटना स्थानीय सरकारप्रति लक्षित देखिन्छन् ।

बम कसले र कुन उद्देश्यले राखेको भन्ने खुल्न सकेको छैन । सबै घटनाका दोषीको पहिचान गरी कानुनी दायरामा ल्याउने गरी अनुसन्धान भइरहेको प्रहरीले जनाएको छ । नेपाल कम्युनिस्ट पार्टीका महासचिव नेत्रविक्रम चन्द ‘विप्लव’ लाई अदालतमा मुद्दा दायर गरेकै दिन उक्त घटना घट्नुले यसमा सोही पार्टीको हात रहेको हुन सक्ने आशङ्का गरिए पनि आधिकारिक पुष्टि भने हुन सकेको छैन ।

माओवादी सशस्त्र युद्धमा सबैभन्दा बढी पीडा भोगेको रोल्पामा फेरि युद्धको झल्को दिने गरी भएका गतिविधिले सर्वसाधारण चिन्तित देखिन थालेका छन् । वार्ता, छलफल र सहमतिका आधारमा यस्ता गतिविधिलाई समयमै रोक्नुपर्ने प्रतिनिधिसभाका पूर्वसांसद लेखनाथ आचार्यको तर्क छ । ‘सशस्त्र गतिविधिलाई नजरअन्दाज गर्नु हुँदैन, विगतबाट पाठ सिक्दै समस्याको समाधानतर्फ लाग्नुपर्छ’– आचार्यले भने ।

मिति परिवर्तन गर्नुहोस् [Date Converter]–


Powered by © nepali date converter

फेसबुकबाट न्युजकोसेलीसँग जोडिनुहोस्–

आजको विनिमय दर