वैदेशिक रोजगार व्यवसायी संघका अध्यक्ष रोहन गुरुङको राजधानीको वसुन्धरास्थित घरमा शुक्रबार साँझ शक्तिशाली बम विस्फोट भएको छ ।
विस्फोटबाट ४ जना घाइते भएका छन् भने एउटा ल्यान्डक्रुजर गाडी ध्वस्त भएको छ । ग्यारेजमा थन्क्याइएको सो गाडीमै राखिएको बम विस्फोट भएको हो । गाडीमुनि राखिएको बम विस्फोट भएपछि आगलागी समेत भएको थियो ।
वैदेशिक रोजगारसम्बन्धी कार्यालय समेत रहेको घरमा भएको विष्फोट र आगलागीले दुई तला माथिसम्म क्षति पुगेको छ भने आसपासका केही घरमा समेत क्षति भएको छ । विष्फोटबाट ममता गौतम र दिवाकर गुरुङ तथा नाम नखुलेका थप दुई जना गरी ४ जना घाइते भएका छन् ।
नेत्रविक्रम चन्द ‘विप्लव’ नेतृत्वको नेकपाले विष्फोटन गराएको हुन सक्ने आशंका प्रहरीले गरे पनि घटनाको जिम्मा कसैले लिएको छैन र उनीहरूको संलग्नता पुष्टि हुने कुनै आधार र प्रमाण समेत फेला परेको छैन ।