newskoseli.Com

सीके राउतसँग सरकारको सहमतिप्रति भीम रावलको आपत्ति !

सरकार र ‘स्वतन्त्र मधेस गठबन्धन’ बीच शुक्रबार भएको सहमतिप्रति नेपाल कम्युनिस्ट पार्टी (नेकपा) का नेता भीम रावलले कडा आपत्ति प्रकट गरेका छन् ।

रिपोटर्स क्लबद्वारा शनिबार राजधानीमा आयोजित साक्षात्कारमा बोल्दै नेता रावलले गठबन्धनका संयोजक डा. चन्द्रकान्त (सीके) राउतले विगतमा देश टुक्र्याउने र राष्ट्र विखण्डन गर्नेजस्ता अभिव्यक्ति दिएको तर सहमतिपत्रमा ती अभिव्यक्ति फिर्ता लिएँ भन्ने शब्द कहीं–कतै नदेखिएको भन्दै आपत्ति जनाएका हुन् ।

‘पहिलो कुरा त सङ्गठनको नाम नै स्वतन्त्र मधेश राख्नु गलत छ, दोस्रो सीके राउतले संविधानको मर्मविपरीत गएर राष्ट्र विखण्डन गर्ने विषयलाई पटक–पटक उठाउँदै आएका छन् तर ती अभिव्यक्ति फिर्ता लिएको कुरा सहमतिपत्रमा उल्लेख छैन’– नेता रावलले भने ।

सहमतिपत्रमा स्वतन्त्र मधेश र जनमत सङ्ग्रहजस्ता आपत्तिजनक शब्द राखिएको भन्दै नेता रावलले त्यस बारेमा सरकारले जवाफ दिनुपर्ने माग गरे । नेकपाभित्र कुनै छलफल नै नगरी अपारदर्शी ढङ्गबाट सहमति गरिएको भन्दै यो सहमतिले कुनै पनि बेला राष्ट्रलाई आघात पुग्न सक्ने उनले बताए । पार्टीभित्र गहन छलफल गरेर सहमतिपत्रलाई सच्याउनुपर्ने रावलको माग छ ।

‘देशलाई शान्तिको बाटोमा, समृद्धिको बाटोमा अगाडि बढाउन विभिन्न सङ्घ–सङ्गठनसँग सहमति गर्नुपर्छ तर त्यस्ता सहमति गर्दा त्यसको निश्चित उद्देश्य हुन्छ, जसले राष्ट्रलाई आघात पुग्नु हुँदैन, देशको स्वतन्त्रतामा नकारात्मक प्रभाव पर्नु हुँदैन’– उनले भनेको खबर राससले प्रेषित गरेको छ ।

मिति परिवर्तन गर्नुहोस् [Date Converter]–


Powered by © nepali date converter

फेसबुकबाट न्युजकोसेलीसँग जोडिनुहोस्–

आजको विनिमय दर