newskoseli.Com

सडकका सौर्यबत्ती धमाधम उखेल्दै ठेकेदार, आखिर किन ?

जिल्लाको प्रमुख व्यापारिक केन्द्र दिपायलमा जडान गरिएका सौर्यबत्ती ठेकेदारले धमाधम उखेल्न थालेका छन् ।

आफूहरुसँग गरिएको सम्झौता अनुसार रकम नदिएको भन्दै सरकारी अनुदानमा दिपायलको पिपल्ला बजारमा जडान गरिएका सौर्यबत्ती ठेकेदारले उखेल्न सुरु गरेका हुन् ।

पिपल्ला बजारमा जडान भएका ३० सौर्यबत्तीमध्ये ७ बत्ती झिक्न लागेको मनिङसन कम्पनीका ठेकेदार वेदप्रकाश कठायतले बताए । उनले भने– ‘दिपायल सिलगढी नगरपालिकाले हामीले जडान गरेका सात बत्तीको ७ लाख रुपैयाँ लामो समय बित्दा पनि नदिएपछि झिक्न थालेका हौं ।’

दिपायल सिलगढी नगरपालिका कार्यालयका तत्कालीन प्रमुख तुलसीप्रसाद आचार्यले उक्त कम्पनीसँग सम्झौता गरेको र त्यतिबेला रकम भुक्तानी नभएको अनि उनी सरुवा भएर अन्यत्र गइसकेपछि पुरानो रकम भुक्तानी गर्न कठिन भएकाले रकम नदिएको नगरप्रमुख मञ्जु मलासीले बताए । उनले भने– ‘समयमै काम सम्पन्न नगरी बिल–भरपाई नदिएकाले त्यो बेला भुक्तानी दिइएन, अहिले हामीसँग रकम छैन, कहाँबाट दिने ?’

जिल्ला उद्योग वाणिज्य सङ्घसँग २०७३ फागुन १७ मा नगरपालिकाले ३० लाख रुपैयाँमा ३० वटा पोलमा सौर्यबत्ती जडानका लागि कार्यादेश दिएको थियो । त्यसपछि सङ्घले उक्त काम २०७३ फागुन ६ मा मनिङसन नेपाल कम्पनीलाई ठेक्का दिएको थियो । कम्पनीले काम गरेवापत दुई पटकको किस्ता गरी २३ लाख रुपैयाँ भुक्तानी पाइसकेपछि अन्य रकम उद्योग वाणिज्य सङ्घलाई नै नगरपालिकाले नदिँदा ठेकेदारलाई दिन नसकिएको सङ्घका पूर्वअध्यक्ष नरेन्द्र खड्काले बताए ।

ठेकेदारले बत्ती भिक्न लागेपछि बजार अन्धकार हुने भन्दै दिपायलका बासिन्दा दुःखी हुन थालेको स्थानीयवासी रामबहादुर विष्टले बताए । उनले भने– ‘बत्तीले बजार उज्यालो भइरहेको थियो, अब उखेलेपछि अन्धकार हुने भयो ।’

निमित्त प्रमुख जिल्ला अधिकारी टेकनारायण पौड्यालले ठेकेदारलाई तत्काल बजारमा भएका सौर्यबत्ती नउखेल्न आग्रह गरिएको जानकारी दिए । उनले भने– ‘नागरिकलाई समस्या पर्ने भएकाले बत्ती नउखेल्न आग्रह गरेको छु, ठेकेदारले पाउनुपर्ने नियमसङ्गतको रकम भुक्तानीका लागि सम्बन्धित निकायमा पहल गर्नेछौं ।’ सौर्यबत्तीका कारण रातिको समयमा झिलिमिली हुने प्रमुख व्यापारिक केन्द्र पिपल्लाबजार अब अन्धकार हुने भएको खबर राससले प्रेषित गरेको छ ।

मिति परिवर्तन गर्नुहोस् [Date Converter]–


Powered by © nepali date converter

फेसबुकबाट न्युजकोसेलीसँग जोडिनुहोस्–

आजको विनिमय दर