नेपाली काङ्ग्रेसका वरिष्ठ नेता रामचन्द्र पौडेल हेलिकप्टर चढेर किरियापुत्री भेट्न पुगेका छन् ।
नेता पौडेलले आइतबार कुश्मा नगरपालिका– ३, दुर्लुङका दिवंगत थमनसिंह गुरुङको परिवारलाई भेट गरेका हुन् । साविकको धौलागिरिका म्याग्दी, बागलुङ र पर्वतका विभिन्न कार्यक्रममा सहभागी हुन सभापति शेरबहादुर देउवासँगै म्याग्दी आएका पौडेलले दिवंगत गुरुङको घरमै पुगेर परिवारसँग भेटघाट गरेका हुन् ।
काङ्ग्रेसका महाधिवेशन प्रतिनिधि समेत रहेका गुरुङप्रति श्रद्धाञ्जलि व्यक्त गर्दै नेता पौडेलले दिवंगत गुरुङ मिलनसार र काङ्ग्रेसका निष्ठावान् कार्यकर्ता रहेको उल्लेख गरे । थमनसिंहको निधनले पार्टीमा गम्भीर क्षति पुगेको बताउँदै शोकको घडीमा परिवार, आफन्तजन र गाउँलेहरूलाई धैर्यधारण गर्न उनले अनुरोध गरे ।
गुरुङको शुक्रबार राति ६४ वर्षको उमेरमा आफ्नै निवास दुर्लुङमा निधन भएको थियो । पञ्चायतकालदेखि नै राजनीति र सामाजिक क्षेत्रमा सक्रिय गुरुङ तीन वर्षदेखि कलेजोको क्यान्सरका कारण बिरामी थिए । माघ २० मा जाँचका लागि नर्भिक अस्पताल काठमाडौं पुग्दा अस्पतालले घरमै आराम गर्न सुझाव दिएपछि उनलाई अस्पतालबाट घर फर्काइएको खबर राससले प्रेषित गरेको छ ।