नेत्रविक्रम चन्द ‘विप्लव’ नेतृत्वको नेपाल कम्युनिस्ट पार्टीको रुपेन्देहीस्थित पार्टी कार्यालय प्रहरीले डोजर चलाएर भत्काइदिएको छ । बुटवलस्थित पाल्पारोडमा रहेको ‘रातो घर’ डोजर चलाएर प्रहरीले भत्काइदिएको हो ।
राष्ट्रिय वाणिज्य बैंकका कर्मचारीहरु र नेपाल प्रहरी मिलेर सो कार्यालयमा केही दिन अगाडि ताला लगाउनुका साथै पार्टीका सबै सरसामानहरु कब्जामा लिएका थिए ।
१३ वर्ष यता पार्टी कार्यालयका रुपमा प्रयोग हुँदै आएको दुईतले उक्त भवन प्रहरीले शुक्रबार दिउँसो भत्काइदिएको हो । शान्ति प्रक्रियाको थालनीसँगै तत्कालीन नेकपा (माओवादी) को कार्यालय रहेको सो भवनलाई माओवादीको विभाजनसँगै मोहन वैद्य ‘किरण’ नेतृत्वको माओवादीले प्रयोग गरेको थियो । वैद्य माओवादी समेत विभाजित भएपछि नेत्रविक्रम चन्द ‘विप्लव’ नेतृत्वको पार्टीले उक्त कार्यालय प्रयोग गरेको थियो ।
शुक्रबार दिउँसो इलाका प्रहरी कार्यालय बुटवलका प्रमुख डिलबहादुर मल्लले सो भवन भत्काउने क्रम चलिरहेको बताउँदै शुक्रबार साँझसम्म पूर्णरुपले भत्काइसक्ने जानकारी दिएका छन् । विभिन्न ठाउँबाट झिकाइएका डोजरहरु प्रयोग गरेर भवन भत्काउने काम भैरहेको उनले बताए ।