लैङ्गिक हिंसा नियन्त्रण सञ्जाल तथा समुदाय–प्रहरी साझेदारी कार्यक्रम अन्तर्गत कालुपाण्डेमार्गस्थित ससाह चौतारामा शनिबार हाइस बसमा छड्के निरीक्षण गरी लैङ्गिक हिंसाको अवस्था लगायतका विषयवस्तुमाथि यात्रुसँग संवाद गरिएको छ ।
गाडीमा यात्रा गर्ने महिला, ज्येष्ठ नागरिक र अपाङ्गता भएका यात्रुका लागि आरक्ति सिटको सदुपयोग भए–नभएको, विद्यार्थीले पाउनुपर्ने छुट पाए–नपाएको निरीक्षण आदि विषयमा बुझ्ने काम गरियो । सार्वजनिक सवारी साधनमा यात्रा गर्ने ज्येष्ठ नागरिक र महिलाहरुसँग यात्राका क्रममा तथा घरपरिवारमा समेत लैङ्गिक हिंसाको अवस्था के–कस्तो छ भन्ने सोधखोज गर्दै यात्रुसँगै प्रत्यक्ष अन्र्संवाद समेत गरियो ।
अभियानलाई प्रभावकारी बनाउन कार्यक्रमका बेला ब्यानर, प्ले–कार्डसहित गरिएको कार्यक्रममा जिल्ला प्रहरी कार्यालयका प्रमुख राजकुमार वैदवार, ट्राफिक नायब निरीक्षक महेन्द्रबहादुर चन्दसहित नेपाल प्रहरीका अधिकृत तथा जिल्ला समन्व्य समितिकी उपप्रमुख विन्दा बरामो, नीलकण्ठ नगरपालिकाका उपप्रमुख मनराज भण्डारी आदि सहभागी भए ।
अभियानमा नीलकण्ठ नगरपालिका वडा नम्बर– ८ का अध्यक्ष गुणराज थपलिया तथा सदस्यहरु, गैरसरकारी सङ्घ–संस्थाका प्रतिनिधि, नागरिक समाजका अगुवा र सञ्चारकर्मीलगायतको समेत सहभागिता रहेको खबर राससले प्रेषित गरेको छ ।