चैत ६ मा अपहृत बालिकाको उद्धार गरेका युवकलाई जिल्ला प्रहरी कार्यालय सुर्खेतले सम्मान गरेको छ ।
वीरेन्द्रनगर नगरपालिका– ८, सुर्खेतका हर्कबहादुर बुढामगरलाई शनिबार जिल्ला प्रहरी कार्यालय सुर्खेतका प्रहरी उपरीक्षक वसन्त रजौरेले सम्मानपत्र प्रदान गरेका हुन् । ‘समाजमा बर्दिविनाको नागरिकले साहसिक र उदाहरणीय काम गरेकाले हामीले बुढामगरलाई सम्मान गरेका हौं’– प्रहरी उपरीक्षक रजौरेले भने ।
सम्मान प्राप्त गरेका बुढामगरले सामान्य नागरिकको हैसियतबाट अपहृत बालिकाको जीवन जोगाउन पाउँदा निकै खुशी अनुभूति गरेको प्रतिक्रिया दिए । बुढामगरले भने– ‘चैत ६ गते होलीको दिन थियो र म बुलबुले मुनितिर तरकारीबारी खनिरहेको थिए । अपराह्न ४ः३० बजेको थियो । एक जना अपरिचित अन्दाजी ३०–३२ वर्षको मान्छे त्यहीं पुग्यो । उसको साथमा बच्ची थिइन् र उनी रुँदै थिइन् । रुने बच्ची को हुन् भनी उसलाई सोध्दा त्यो मान्छेले कति बेला छोरी भन्थ्यो त कुनै बेला भान्जी । उसको नाम सोध्दा श्याम ढकाल त भन्यो तथापि त्यो सही नाम थिएन ।’
उनका अनुसार त्यति सोधेपछि त्यो मान्छे हामीसँग केही कुरा गर्न खोजेर अलमलमा पार्न खोज्दै थियो । पछि शङ्का लागेर नानी तिमी उसलाई चिन्छ्यौ भनी सोधें । तर, बच्चीले म चिन्दिनँ भनेर रुँदै उत्तर दिइन् । त्यसपछि तत्कालै प्रहरीलाई सम्पर्क गर्नुपर्छ भनियो र हाम्रो झमेला देखेर नजिकका स्थानीयले प्रहरीलाई खबर गरेछन् ।
बच्ची खोस्न थाल्दा त्यो श्याम नामको अपरहरणकारीले आफ्नो दायाँ हातको औंलामा टोकेर घाइते बनाए पनि उसलाई लतारेर आफूले बच्ची हातमा ल्याउन सफल भएको बुढाले बताएको खबर राससले प्रेषित गरेको छ ।