शनिबार दिउँसो हावाहुरीसहित परेको चट्याङबाट मोरङ र झापामा दुई जनाको मृत्यु भएको छ भने अरू दुई जना घाइते भएका छन् ।
चट्याङ लागेर मोरङको बुढीगंगा गाउँपालिका– ३ की १० वर्षीया आराधना राजवंशीको मृत्यु भएको छ । पानी पर्न थालेपछि बाहिर रहेका गाईवस्तुलाई घर ल्याउने क्रममा चट्याङ लागेर घाइते भएकी आराधनाको विराट मेडिकल अस्पतालमा उपचारको क्रममा मृत्यु भएको प्रहरीले जएको छ ।
झापाको मेचीनगर नगरपालिका– १५, ज्यामिरगढीका ४० वर्षीय प्रकाश राउतको पनि शनिबारै चट्याङ लागेर मृत्यु भएको छ । उनकी ३५ वर्षीया पत्नी सुनिता राउत र ३६ वर्षीया भाउजू मञ्जु राउत घाइते भएको प्रहरीले जनाएको छ ।
खेतमा काम गरिरहेका बेला चट्याङ लागेर उनीहरु घाइते भएका थिए । भद्रपुरस्थित ओम साई पाथिभरा अस्पतालमा उपचारको क्रममा प्रकाशको मृत्यु भएको तथा उनकी पत्नी र भाउजूको भने उपचार भइरहेको प्रहरीले जनाएको छ ।