बिहेमा जन्ती जाँदा केटी जिस्क्याएको निहुँमा जन्ती र बेहुलीतर्फका नातेदारबीच भएको झगडामा घाइते भएका अल्काटार, लमजुङका ३४ वर्षीय विष्णुबहादुर कुमालको मृत्यु भएको छ । बुधबार बेलुकी साढे ८ बजेतिर भएको उक्त घटनाका घाइते कुमालका उपचारका क्रममा मृत्यु भएको हो ।
बेहुली लिन राइनस नगरपालिका– ४, अल्कटार, लमजुङबाट बुधबार पालुङटार– ४, कुमालगाउँ, गोरखा आएका जन्तीतर्फका युवाहरूले केटी जिस्क्याएको आरोपमा बेहुली पक्षसँग कुटाकुट भएको थियो । कुटाकुटका क्रममा घाइते भएका कुमाललाई उपचारार्थ पोखरास्थित गण्डकी मेडिकल कलेज लगिएको थियो ।
घटनामा संलग्न १५ जनालाई नियन्त्रणमा लिएर अनुसन्धान भइरहेको गोरखाका एसपी भोला रावलले जानकारी दिएका छन् ।