newskoseli.Com

बाख्राको मासु खाँदा १५ जना बिरामी, केहीको अवस्था गम्भीर

बाख्राको मासु खाँदा आदर्श गाउँपालिका– १, भेलगडा, डोटीका १५ स्थानीयवासी बिरामी परेका छन् । सायल गाउँपालिकाका स्थानीय तथा नेकपाका नेता तेजबहादुर डुम्रेलले दिएको जानकारी अनुसार स्थानीयवासीले शनिबार गाउँमा बाख्रा काटेर मासु खाँदा दुई वर्षीय बालक देखि ४० वर्षसम्मका स्थानीयवासी एकाएक बिरामी परेका हुन् ।

बाख्राको मासु खाएर बिरामी परेकामध्ये १२ लाई दिपायलको पिपल्लास्थित शैलेश्वरी अस्पतलामा उपचारका लागि ल्याइएको छ भने बाँकी ३ जनाको स्थानीय मौवा स्वास्थ्यचौकीमा उपचार भइरहेको इलाका प्रहरी कार्यालय दिपायलका प्रमुख कमलापती पन्तले बताए । उनले भने– ‘बाख्राको मासु खाएर गम्भीर बिरामी भएकामध्ये १२ को दिपायलमा उपचार भइरहेको र बाँकी ३ समान्य बिरामीको गाउँमै उपचार भइरहेको छ ।’

इलाका प्रहरी कार्यालय दिपायलले दिएको जानकारी अनुसार बाख्राको मासु खाएर गम्भीर बिरामी परेकामा आर्दश गाउँपालिका– १, भेलगडाकी ९ वर्षीया सरस्वती खड्का, सोही वडाका २९ वर्षीय प्रेम खड्का, ३८ वर्षीय पदम खड्का, २६ वर्षीय नारायण खड्का, १३ वर्षीया पार्वती खड्का, ११ वर्षीया कल्पना खड्का, २७ वर्षीया इस्सरादेवी खड्का, ३ वर्षीया उर्मिला खड्का रहेका छन् ।

बिरामी हुने अन्यमा आर्दश गाउँपालिका– १, भेलगडाकी २ वर्षीया एलिसा खड्का, सोही वडाका ८ वर्षीय रोशन खड्का, ४० वर्षीया शान्तिदेवी खड्का, ७ वर्षीय रोहन खड्का, ३२ वर्षीया मानी खड्का, १३ वर्षीय नारद खड्का र १२ वर्षीया अनिशा खड्काको गाउँमै उपचार भइरहेको छ । स्थानीयवासीका अनुसार शनिबार गाउँमा बाख्रा काटी काँचो मासु खाएका कारण उनीहरू बिरामी परेका हुन् ।

मासु खाएर बिरामी परेकामध्ये केहीको अवस्था गम्भीर रहेको र केहीलाई क्रमिक रुपमा सुधार भइरहेको शैलेश्वरी अस्पताल दिपायल, पिपल्लाका चिकित्सक तथा निर्देशक आइजङ्ग कुँवरले बताए । ‘स्थानीयवासीले खाएको बाख्रामा केही न केही रोग भएको हुनुपर्छ,’ उनले भने– ‘अहिले केहीको अवस्थामा सुधार आएको छ भने साना केटाकेटीलाई चाहिँ अहिले पनि समस्या नै छ ।’

बाख्राको मासु खाँदा गाउँले किन यसरी बिरामी परे भन्ने विषयमा खोजबिन र अनुसन्धान भइरहेको जिल्ला प्रहरी कार्यालय डोटीका प्रहरी प्रवक्ता तथा प्रहरी नायब उपरीक्षक लालबहादुर धामीले बताएको खबर राससले प्रेषित गरेको छ ।

मिति परिवर्तन गर्नुहोस् [Date Converter]–


Powered by © nepali date converter

फेसबुकबाट न्युजकोसेलीसँग जोडिनुहोस्–

आजको विनिमय दर