newskoseli.Com

‘प्याब्सन’ ले बाढीपीडितका लागि बनाइदिँदै नमूना वस्ती

रामधुनी नगरपालिका– ८, सुनसरीमा निजी तथा आवासीय विद्यालय सङ्गठन (प्याब्सन) ले नमूना वस्ती निर्माण गर्ने भएको छ । प्याब्सन केन्द्रीय कार्यालयले प्रदेश र जिल्ला शाखासँगको समन्वयमा २५ घरधुरीसहितको नमूना वस्ती निर्माण गर्न लागेको हो ।

रामधुनी नगरपालिकाले उपलब्ध गराएको करिव एक बिघा क्षेत्रफलमा सुविधासम्पन्न वस्ती निर्माण गर्न लागेको प्याब्सन सुनसरीका अध्यक्ष विष्णु कोइरालाले बताए । बाढीपीडित र विपन्न समुदायलाई लक्षित गरी तयार पार्न लागिएको वस्तीका प्रत्येक घर दुईकोठे हुनेछन् । शौचालय र खानेपानीको उचित प्रबन्ध सहितको बन्दोबस्ती मिलाइने नमूना वस्तीमा चिल्ड्रेन पार्कको समेत व्यवस्था गरिने अध्यक्ष कोइरालाले बताए ।

बढीमा छ महिनाभित्र निर्माण सम्पन्न गरी सम्बन्धित परिवारलाई घर हस्तान्तरण गर्ने लक्ष्य लिएको प्याब्सनले नमूना वस्ती निर्माणको अनुमानित लागत १ करोड ५० लाख रूपैयाँको हाराहारीमा रहने जनाइएको छ । वस्ती निर्माणको शिलान्यासका लागि सङ्घीय सरकारका शिक्षा विज्ञान तथा प्रविधिमन्त्री गिरिराजमणि पोखरेलका साथै कृषि तथा पशुपक्षी राज्यमन्त्री रामकुमारी चौधरी र १ नम्बर प्रदेशका सामाजिक विकासमन्त्री जीवन घिमिरे रामधुनी पुगेका थिए ।

कार्यक्रममा प्याब्सनका केन्द्रीय अध्यक्ष टीकाराम पुरी, प्याब्सन प्रदेश– १ का अध्यक्ष युवराज वशिष्ठसहित केन्द्र, प्रदेश र जिल्ला तहका पदाधिकारीको उपस्थिति थियो । कार्यक्रममा बराह क्षेत्र नगरपालिका प्रमुख निलम खनाल, रामधुनी नगरपालिका प्रमुख जयप्रकाश चौधरी, नेकपाका सुनसरी अध्यक्ष योगेन्द्र मण्डल, वडाध्यक्ष रुद्र बस्नेतलगायत सहभागी रहेको खबर राससले प्रेषित गरेको छ ।

मिति परिवर्तन गर्नुहोस् [Date Converter]–


Powered by © nepali date converter

फेसबुकबाट न्युजकोसेलीसँग जोडिनुहोस्–

आजको विनिमय दर