पश्चिमी न्यूनचापीय प्रणालीको प्रभावले बिहीबार काठमाडौं उपत्यकासहित देशभर आंशिक तथा सामान्य बदली हुनुका साथै मेघ गर्जनसहित केही समय वर्षाको सम्भावना रहेको जल तथा मौसम पूर्वनुमान महाशाखाले जनाएको छ ।
पूर्वी क्षेत्रमा बनेको न्यूनचापीय रेखा र बंगालको खाडीबाट आएको जलवाष्पयुक्त हावा तथा स्थानीय वायुको प्रभावले बदली र हावाहुरीसहित वर्षा भइरहेको मौसामविद् राजु प्रधानांगले बताए । शनिबार फेरि पश्चिमी वायु नेपाल प्रवेश गर्ने भएकाले पुनः बदली हुने जानकारी मौसमविद् प्रधानांगले दिएका छन् । पूर्वमनसुनको समय भएकाले यस्तै गतिविधि दोहोरिइरहने उनको भनाइ छ ।
बिहीबार राति देशको पूर्वी तथा मध्य र पश्चिमी क्षेत्रमा आंशिक बदली रही पहाडी भागका केही स्थानमा मेघ गर्जनसहित केही बेर वर्षाको सम्म्भावना रहेको महाशाखाले जनाएको छ । शुक्रबार देशको पहाडी भागमा आंशिकदेखि सामान्य बदली रही अपराह्नपछि एक–दुई स्थानमा हावाहुरीसहित हल्का तथा मध्यम वर्षा हुने सम्भावना छ । त्यस्तै, शनिबार देशको पहाडी भागमा आंशिक बदली रही पश्चिमी पहाडी क्षेत्रका केही स्थान तथा मध्य र पूर्वी भागका एक–दुई स्थानमा मेघ गर्जनसहित केही बेर वर्षाको सम्भावना रहेको महाशाखाको भनाइ छ ।
महाशाखाको पछिल्लो विवरणअनुसार बिहीबार काठमाडौंको न्यूनतम तापक्रम १५.५ डिग्री सेल्सियस र अधिकमत तापक्रम २८.५ डिग्री सेल्सियस रहने छ । नेपालगञ्जको अधिकतम तापक्रम ४०.५ डिग्री सेल्सियस रहने जनाइएको खबर राससले प्रेषित गरेको छ ।