लामो समयदेखि प्रयास गर्दा पनि घरेलु मदिरा नियन्त्रण नभएपछि घोराही– ४ का जनप्रतिनिधि र महिलाले नियन्त्रण अभियान सुरु गरेका छन् । वडाका विभिन्न टोलमा पुगेर उनीहरुले घरेलु मदिरा, मदिरा उत्पादनका कच्चा पदार्थ र उत्पादन गर्ने भाँडा नियन्त्रणमा लिएर नष्ट गरेका छन् ।
गाउँघरमा बनाइने मदिराले सिङ्गो गाउँमै अपराध बढ्न थालेपछि यस्तो अभियान सुरु गरिएको घोराही– ४ का वडाध्यक्ष भीमबहादुर सार्कीले बताए । ‘७ वर्षका बालबालिकादेखि ७० वर्षसम्मका वृद्ध समेतले मदिरा सेवन गर्न थाले, मदिरा सेवनले गाउँमा दैनिक होहल्ला हुन थाल्यो । झैझगडा र कुटपिटले घरेलु हिंसा बढ्यो,’ वडाध्यक्ष सार्कीले भने– ‘दैनिक झगडा हुने र मिलापत्रका लागि जनप्रतिनिधिले आधा समय त्यसैमा खर्चनुपर्ने अवस्था आयो ।’
वडाका विभिन्न टोलमा गरेर अहिलेसम्म ५ हजार लिटरभन्दा बढी घरेलु मदिरा र कच्चा पदार्थ नियन्त्रणमा लिएर नष्ट गरिएको बाह्रहाङ्गे टोल विकास संस्थाकी रिखा घर्तीले बताइन् । ‘गाउँमा बस्न नसक्ने भइयो, दिउँसै रक्सी खाएर बाटामा पल्टिने, बेलुका घरमा झगडा गर्ने र अर्को दिन मिलापत्र गराइदिनुपर्ने दैनिक कामजस्तै भयो,’ घर्तीले भनिन्– ‘कति दिन सहने ? सबै समस्याको एउटै कारण घरेलु रक्सी हो भन्ने हामीलाई लाग्यो, त्यसपछि रक्सी फाल्ने अभियान सुरु गरियो ।’
अभियानको पहिलो दिन २ हजार ५ सय लिटर घरेलु मदिरा नियन्त्रणमा लिएर नष्ट गरिएको थियो । बिहीबार पनि विभिन्न टोलमा पुगेर मदिरा नियन्त्रणमा लिइएको अस्थायी प्रहरी चौकी गोग्लीका इन्चार्ज विष्णुबहादुर बुढाथोकीले बताए । घोराही उपमहानगरपालिका– ४, बाह्रहाङ्गे, माथिल्लो भकारे र तल्लो भकारे, माझडाँडा, डाँडागाउँ, ढुङ्गेडाँडा, फल्लेडाँडा, राजधानी टोल, पारखेतलगायतका टोलमा पुगेर मदिरा नियन्त्रण अभियान चलाइएको जानकारी इन्चार्ज बुढाथोकीले दिए ।
घरमै उत्पादन गरेर बिक्रीवितरण हुने मदिरामा महिला महिनावारी हुँदा प्रयोग गरेर फालिएको प्याड, पुराना चप्पल, पुराना कपडा र पिसाब समेत मिसाइने गरेको वडाध्यक्ष सार्कीले बताए । नियन्त्रणमा लिएर नष्ट गर्ने क्रममा उत्पादन हुँदै गरेको रक्सीका ड्रमभित्र पिसाब, प्याड, चप्पल आदि भेटिएको उनले बताए । कच्चा पदार्थसँगै राखिएको अवस्थामा अभियानकर्मीले एक ग्यालिन मानिसको पिसाब समेत बरामद गरेको अस्थायी प्रहरी चौकीका इन्चार्ज बुढाथोकीले बताए ।
घरेलु मदिराका विरुद्ध स्थानीय रूपमा सञ्चालन भएको अभियान टोलीले छापा मार्दा केही घरमा चप्पल मिसाइएको जाँड बरामद भएको थियो भने सङ्कलन गरेर राखिएको अवस्थामा एक ग्यालिन मानिसको पिसाब फेला पारिएको थियो । रक्सी पार्न राखिएको जाँडको ड्रमभित्र २ जोर चप्पल समेत भेटिएको टोल विकास संस्थाकी पार्वती रानाले बताइन् । ‘रक्सी पार्नका लागि राखिएको जाँडमा पुराना चप्पल हालिएको रहेछ, फाल्ने क्रममा त्यो भेटियो,’ उनले भनिन्– ‘एउटा घरमा त सङ्कलन गरेर राखिएको मान्छेको पिसाब नै एक जर्किन भेटियो ।’
रक्सीमा मिसाउनका लागि नै त्यो पिसाब राखिएको हुन सक्ने प्रहरीले बताएको छ । अनुसन्धान गर्ने र त्यस्तो गतिविधि गर्नेलाई कारबाही गरिने प्रहरी चौकी गोग्लीका इन्चार्ज बुढाथोकीले बताए । घरेलु मदिराले उत्पन्न गरेको अपराधलाई न्यूनीकरण गर्न मदिरा फाल्ने अभियान सुरु गरिएको उल्लेख गर्दै यो अभियान नियमितरूपमा अगाडि बढाउने वडाध्यक्ष सार्कीले बताएको खबर राससले प्रेषित गरेको छ ।