चितवनस्थित कृषि तथा वन विज्ञान विश्वविद्यालय रामपुरका कृषि सङ्कायका सहायक डिन प्रा. विष्णुराज ओझालाई कालोमोसो दलेको आरोपमा ६ विद्यार्थीलाई प्रहरीले पक्राउ गरेको छ ।
रामपुर क्याम्पस परिसरबाट बुधबार उनीहरु पक्राउ परेका हुन् । प्रहरी नायब उपरीक्षक दुर्गाराज रेग्मीका अनुसार सन्तोष खतिवडा, गोपाल थापा, वामदेव रेग्मी, मिलन चौहान, विभोर गौली र सुशन पौडेल पक्राउ परेका छन् ।
प्रा. ओझाले जिल्ला प्रहरी कार्यालयमा किटानी जाहेरी दिएपछि विद्यार्थीलाई पक्राउ गरिएको हो । उनीहरुलाई विश्वविद्यालय कार्यकारी परिषदको बैठकले यसअघि दुई महिनाका लागि क्याम्पसबाट निष्काशित गरेको थियो ।
विश्वविद्यालयका सहायक डिन ओझामाथि विभिन्न आरोप लगाउँदै चैत २१ मा यिनै ६ जना विद्यार्थीको समूहले विश्वविद्यालय परिसरमै ओझामाथि कालोमोसो दलेर दुर्व्यवहार गरेको आरोप लगाइएको छ । सो घटनापछि ‘प्रजातन्त्रवादी प्राध्यापक सङ्घ’ ले आन्दोलन गर्दै आएको खबर राससले प्रेषित गरेको छ ।