newskoseli.Com

प्रहरीको गोलीबाट विप्लवका कार्यकर्ताको मृत्यु : नेताको चेतावनी– ‘जवाफ दिइन्छ !’

प्रहरीले हानेको गोली लागेका नेत्रविक्रम चन्द ‘विप्लव’ नेतृत्वको नेपाल कम्युनिस्ट पार्टीका एक कार्यकर्ताको निधन भएको छ ।

मंगलबार भोजपुरमा प्रहरीको गोलीबाट घाइते भएका विप्लव नेकपाका ३२ वर्षीय जिल्लास्तरीय कार्यकर्ता तिर्थराज घिमिरेको राति निधन भएको हो । मंगलबार दिउँसो भोजपुर र खोटाङको सीमानामा पर्ने मैयुम क्षेत्रको धोत्रे भन्ने ठाउँबाट गिरफ्तार गर्ने क्रममा प्रहरीले घिमिरेमाथि गोली चलाएको थियो ।

षडानन्द नगरपालिका– २, कुदाककाउलेका घिमिरे प्रहरीको गोलीबाट गम्भीर घाइते भएका थिए । खुट्टामा गोली लागेको उनलाई स्थानीय अन्नपूर्ण स्वास्थ्य चौकीमा प्राथामिक उपचारपछि थप उपचारका लागि धरानस्थित बीपी कोइराला स्वास्थ्य विज्ञान प्रतिष्ठान लाने क्रममा बाटैमा मृत्यु भएको जिल्ला प्रहरी कार्यालय भोजपुरका इन्स्पेक्टर पाण्डव राजवंशीले बताएका छन् ।

मंगलवार साझ ५ बजे धरान पठाइएका उनको बुधबार बिहान ३ बजे मृत्यु भएको प्रहरीले जनाएको छ । टेम्केमैयुङ गाउँपालिका– २, छिनामखुस्थित धोत्रे जङ्गलमा विप्लवका कार्यकर्ताको समूह र प्रहरीबीच जम्काभेट भएको भोजपुरका प्रमुख जिल्ला अधिकारी नुरहरि खतिवडाले बताए । विप्लवका सशस्त्र कार्यकर्तासँग जम्काभेट भएको दावी प्रजिअ खतिवडाले गरेका छन् । जम्काभेट भएलगत्तै विप्लवका कार्यकर्ताले प्रहरीमाथि फायर खोलेको र जवाफी कारबाहीमा घिमिरेलाई गोली लागेको प्रजिअ खतिवडाको दावी छ ।

विप्लव नेतृत्वको नेकपाले भने सो घटना प्रायोजित भएको जनाएको छ । सामान्य अवस्थामा रहेका निशस्त्र कार्यकर्तालाई कब्जामा लिई योजनाबद्ध तरिकाले गोली हानेर प्रहरीले हत्या गरेको उल्लेख गर्दै आफ्नो पार्टीले त्यसको जवाफ दिने नेकपाका एक नेताले चेतावनी दिएका छन् ।

मिति परिवर्तन गर्नुहोस् [Date Converter]–


Powered by © nepali date converter

फेसबुकबाट न्युजकोसेलीसँग जोडिनुहोस्–

आजको विनिमय दर