सामाजिक सञ्जालको प्रयोगबाट हुने अपराधको नियन्त्रणमा महत्त्वपूर्ण भूमिका परिवारकै हुनेमा सरोकारवालाहरुले जोड दिएका छन् ।
राजधानीको गौशालास्थित महानगरीय प्रहरी वृत्त र तिलगङ्गा आँखा प्रतिष्ठानले मंगलबार संयुक्त रुपमा ‘विद्युतीय अपराधसम्बन्धी सचेतना’ कार्यक्रम आयोजना गरे । सो कार्यक्रमका वक्ताहरुले सामाजिक सञ्जालको प्रयोगबाट ठूलठूला अपराध भएको भन्दै यसको नियन्त्रणमा परिवारकै भूमिका सबैभन्दा प्रभावकारी र महत्त्वपूर्ण हुने उल्लेख गरे ।
कार्यक्रममा बोल्दै महानगरीय प्रहरी कार्यालय रानीपोखरीका प्रमुख प्रहरी नायव महानिरीक्षक शैलेश थापा क्षेत्रीले ‘परिवार सुरक्षित भएमा सिङ्गो समाज र देशकै सुरक्षा गर्न सकिने’ बताए । ‘विद्युतीय माध्यमको प्रयोगमा हाम्रो समाज धेरै अगाडि पुगिसकेको छ,’ उनले भने– ‘सामाजिक सञ्जालको प्रयोगबाट हुने अपराधलाई न्यूनीकरण गर्न समाजमा रहने सबैको समान उत्तरदायित्व रहन्छ ।’
समाजमा रहने सबैको चाहना शान्त, सुरक्षित र सभ्य समाज निर्माण गर्नु भएकाले सामाजिक सञ्जालबाट हुने अपराधलाई न्यूनीकरण गरेमा समाजमा हुने विकृति र विसङ्गतिलगायतका चुनौतीको सामना गर्न सकिने महानगरीय प्रहरी परिसर काठमाडौंका प्रमुख प्रहरी वरिष्ठ उपरीक्षक उत्तमराज सुवेदीले बताए ।
तिलगङ्गा आँखा प्रतिष्ठानका निर्देशक प्रा.डा. गोविन्द पौडेलले शान्त र सुरक्षित समाज निर्माणका लागि अस्पताल विभिन्न सङ्घ–संस्थासँग सहकार्य गरेर अगाडि बढेको उल्लेख गरेको खबर राससले प्रेषित गरेको छ ।