जुम्लाको तिला गुफा नगरपालिकाका ६२ वर्षीय भक्तबहादुर बोगटी जुम्लास्थित कर्णाली प्रतिष्ठान अस्पतालमा पाँच वर्षीय छोरा विशाल बोगटीको उपचारमा क्रियाशील छन् । घर नजिकैको स्कुल जाँदै गर्दा बाटामा जङ्गली फल मचैनो खाँदा बिरामी भएका छोराको स्वास्थ्य अवस्था निकै चिन्ताजनक भएपछि अस्पताल आइपुगे उनी । अस्पतालमा उनले भने– ‘यो मेरो एक्लो छोरो हो, जसरी पनि बचाइदिनुुस् डाक्टर’साब । यो छोरो रहेन भने म पनि रहनेछैन ।’
छोरा जन्माउनकै लागि उनले सात छोरी जन्माए । छोराको आसमा उनले सात छोरी जन्माएको कथा सुनाउँदा उपचारमा संलग्न चिकित्सकहरु नै छक्क परे । चिकित्सकले उपचार सुरु गरे । उपचारपछि उनका छोराको स्वास्थ्य अवस्था सुध्रँदै गैरहेको छ । ‘अहिले खेल्न र बोल्न सक्ने भएको छ,’ बोगटीले भने– ‘कर्णाली अस्पताल हुँदैनथ्यो भने छोरो हुँदैनथ्यो, छोरो नहुँदा म पनि यो संसारमा हुन्नथें होला, छोरो बाँचेकामा धेरै खुशी छु ।’
सघन उपचारकक्ष (आईसीयू) मा उनका छोराको उपचार भैरहेको छ । उनका अनुसार छ छोरी जन्मिसकेपछि सातौं पटक छोरो जन्मिएको हो । ‘छोरोभन्दा पछाडि फेरि एउटी छोरी जन्मिएकी छे,’ उनले भने– ‘यो समाज छोरो जन्मेकामा उत्सव मनाउँछ, छोरी जन्मेकामा घृणा गर्छ त्यसैले समाजकै लागि भए पनि छोरो खोजेको हुँ । छोराकै आसमा सात छोरी भए । बीचमा भाग्यवश जन्मेको यो छोरो बचाउन खुब प्रयत्न गर्दैछु ।’
उनका छ छोरीको विवाह भइसकेको छ । कान्छी छोरी, एक छोरा र श्रीमती मात्र साथमा रहेको उनले बताए । उनले भने– ‘समयमै छोरो जन्मिएको भए लालनपालनमा राहत मिल्थ्यो होला । छोरी भए, अर्काको घर गए, एक्लो बनाए । अहिले सहाराविहीन झैं छु ।’
छोराको आसमा सात छोरी जन्माएका उनले एक्लो छोरा बचाउन गरेको हारगुहारले अस्पतालको ध्यान केन्द्रित भएको कर्णाली प्रतिष्ठानका रजिस्ट्रार विश्वराज काफ्लेले बताए । उनले भने– ‘जङ्गली फल खाँदा त्यसको असर दिमागमा परेको देखियो । छोरो छटपटाउन थाल्यो । बाबु उपचारका लागि रोईकराई गर्न थाले । तर, बिहानै निको भएर छोरो बोल्न थालेपछि बूढाको मुहारमा खुशी देखियो ।’
सात छोरीको बीचमा जन्मिएको छोरो बिरामी हुँदा घरपरिवारमा निकै रुवावासी चलेको उनले बताए । ‘निको भएर घर फर्कुंला भन्ने आश थिएन,’ बोगटीले भने– ‘अब छोरो निको भएपछि खुशीसाथ घर फर्कंदैछु । छोराको उपचार हुन नसकेको भए म घर फर्कने थिइनँ । अब खुशीका साथ फर्कन्छु । मेरो छोराले पुनर्जन्म पायो ।’ रासस