गरिबी निवारण कोषका उपाध्यक्ष निर्मल भट्टराई प्रदेश– २ का लोपोन्मूख र अल्पसंख्यक जातिद्वारा सम्मानित भएका छन् ।
नेपाल कुसवडिया संघले शनिबार बाराको कलैयामा एक समारोहको आयोजना गरी उपाध्यक्ष भट्टराई सहितलाई सम्मान गरेको हो । सोही कार्यक्रममा राउटे तथा लोपोन्मूख जाति उत्थान प्रतिष्ठानका अध्यक्ष सत्यदेवी खड्कालाई पनि सम्मान गरियो ।
प्रदेश– २ का लोपोन्मूख जातिहरुको सूचीकरण र नेपाल सरकारको सामाजिक सुरक्षा कार्यक्रममा उनीहरुलाई समावेश गराउन सहजीकरण गरिदिएवापत उनीहरु सम्मानित भएका हुन् । समारोहमा बोल्दै पूर्वमन्त्री तथा सत्ताधारी नेकपाका नेता पुरुषोत्तम पौडेलले कम्युनिस्टहरु आफ्नो वर्गको हितमा अविचलित भएर लाग्नुपर्ने बताए । वर्तमान सरकारले गरिब र पिछडिएका वर्गको वृहत्तर हितमा काम गर्नुपर्ने उनको भनाइ थियो ।
केपी ओली नतृत्वको वर्तमान सरकारलाई पाँच वर्षसम्म कसैले हल्लाउन नसक्ने सम्मानित भट्टराईले बताए । यही सरकारले ५ वर्षभित्र देशको आर्थिक र सामाजिक क्षेत्रमा कायापलट गर्ने दावी उनले गरे ।
कार्यक्रममा सम्मानित सत्यदेवी खड्का, संविधानसभाका सदस्य रंजना सरकार, कलैया उपमहानगरपालिकाका कार्यकारी अधिकृत हरिनारायण बेलवासे, नेपाल कुसबडिया संघका अध्यक्ष राजु कुसवडियालगायतले पनि मन्तव्य राखे ।