प्रहरीले कास्कीको अन्नपूर्ण गाउँपालिकाबाट नेत्रविक्रम चन्द ‘विप्लव’ नेतृत्वको नेपाल कम्युनिस्ट पार्टीका १८ नेता–कार्यकर्तालाई पक्राउ गरेको छ । जिल्ला प्रहरी कार्यालयका अनुसार शनिबार उनीहरुलाई अन्नपूर्ण गाउँपालिका– ११ स्थित उरी भन्ने ठाउँबाट राति नियन्त्रणमा लिइएको हो ।
पक्राउ पर्नेहरुमा विप्लव नेकपाका केन्द्रीय सदस्य मिलन राई, कास्की सेक्रेटरी आक्रोश भनिने विवेक भण्डारी, विद्यार्थी सङ्गठनका जिल्ला अध्यक्ष काजी गुरुङलगायत पार्टीका जिल्लास्तरीय नेता तथा विद्यार्थी सङ्गठनका नेता–कार्यकर्ता रहेको प्रहरी उपरीक्षक दानबहादुर कार्कीले बताएका छन् ।
सो क्षेत्रमा केही दिनयता विप्लव नेकपाका गतिविधि बढेको भन्ने सूचनाका आधारमा अघिल्लो दिनदेखि नै प्रहरीले अप्रेसन चलाएको र उनीहरुलाई ‘आमा समूह’ को भवनबाट नियन्त्रणमा लिइएको प्रहरीको भनाइ छ । ‘आमा समूह’ को भवनमा पार्टीको बैठक बसिरहेको अवस्थामा प्रहरीले घेरा हालेर विप्लव नेकपाका नेता–कार्यकर्तालाई गिरफ्तार गरेको बताइएको छ । उनीहरुलाई शनिबार राति नै जिल्ला प्रहरी कार्यालय कास्कीमा पुर्याएर अनुसन्धान सुरू गरिसकिएको प्रहरीले जनाएको खबर राससले प्रेषित गरेको छ ।
अपडेटः
राससद्वारा प्रेषित समाचारमा मिलन राईलाई विप्लव नेकपाको केन्द्रीय सदस्य उल्लेख गरिए तापनि सो पार्टीसम्बद्ध स्रोतले उनी अनेरास्ववियु (क्रान्तिकारी) का केन्द्रीय सदस्य एवं गण्डक ब्युरो संयोजक भएको न्युजकोसेलीलाई जानकारी गराएको छ । –सं. ।