newskoseli.Com

लोकसेवाको ‘विवादास्पद’ विज्ञापन : १ मिनेटमा १०० जनाले भरिरहेछन् आवेदन

हालै लोकसेवा आयोगले खुलाएको ‘विवादास्पद’ विज्ञापन अनुसार आवेदन फारम भर्ने मिति सकिनै लाग्दा फारम भर्नेको संख्या ह्वात्तै बढेको छ । प्रतिनिधिसभाको राज्य व्यवस्था तथा सुशासन समितिले विज्ञापन रद्द गर्ने निर्देशन दिएपछि केही दिन फाराम भर्नेको संख्यामा कमी आए पनि अहिले फाराम भर्ने समय सकिन लाग्दा भने वृद्धि भएको हो ।

फाराम भर्ने समय सकिन लाग्दा आवेदन दिनेको संख्यामा वृद्धि भएको आयोगका सूचना अधिकारी देवीप्रसाद सुवेदीले बताए । उनका अनुसार अहिले प्रतिमिनेट सय जनाले फाराम भरिरहेका छन् । एकै पटक धेरै संख्याले फारम भर्दा आयोगको सर्भरमा चाप देखिएको छ ।

‘पहिले समितिको रद्द गर्ने निर्देशनपछि परीक्षा हुने हो वा होइन भनेर परीक्षार्थीले फारम भरेका थिएनन्,’ उनले भने– ‘अहिले तीन दिनदेखि आयोगको सर्भरमा चाप देखिएको छ ।’ एकै पटकमा धेरै जनाले फारम भर्दा सर्भरमा पनि बेला–बेलामा प्राविधिक समस्या आउने गरेको छ । आयोगले विगत तीन वर्ष यतादेखि अनलाइन फारम सुरु गरेको हो ।

प्रकाशित विज्ञापन अनुसार मङ्गबार राति १२ बजेसम्म एकल दस्तुर र असार १० सम्म दोब्बर दस्तुरमा फारम भर्न सकिनेछ । आयोगले ५ सय १५ स्थानीय तहका लागि विभिन्न ९ हजार १ सय ६१ पदका लागि आवेदन फारम माग गरेको छ ।

उपसचिव सुवेदीका अनुसार आयोगले अपेक्षा गरेअनुसार भने परीक्षार्थीले फाराम भरेनन् । ‘आयोगले यति धेरै संख्यामा आवेदन माग गर्दा करिव ३ लाखभन्दा बढीले भर्ने अपेक्षा गरेका थियौं,’ उनले भने– ‘अहिलेको संख्या हेर्दा त्यो नपुग्ने देखिन्छ । अझै केही दिन फारम भर्ने समयमा भएकाले संख्यामा वृद्धि भने हुन्छ ।’

उनका अनुसार अहिलेसम्म १ लाख ६२ हजार ३ सय ३३ आवेदन फारम भरिएकामा महिलातर्फ ३९ हजार ६ सय ४६, जनजाति १८ हजार ५१, मधेशी १० हजार १४, दलित १ हजार २ सय ३०, अपाङ्ग ७३ र पिछडिएका ५० जना रहेको खबर राससले प्रेषित गरेको छ ।

मिति परिवर्तन गर्नुहोस् [Date Converter]–


Powered by © nepali date converter

फेसबुकबाट न्युजकोसेलीसँग जोडिनुहोस्–

आजको विनिमय दर