newskoseli.Com

‘दसैंभरि फाट्टफुट्ट झरी… !’

साविकअनुसारको मिति हेर्ने हो भने यस वर्षाको मनसुनको समयावधि सकिएको छ । दुई दिनअघि नै नेपालको मनसुनको समयावधि सकिएको हो । तथापि मनसुन सक्रिय गराउने न्यूनचापीय रेखा अझै नेपाल आसपास नै रहेकाले मनसुन चक्रको अन्त्य भने नभएको मौसम पूर्वानुमान महाशाखाले जनाएको छ ।

‘मनसुन अन्त्य हुन यसका विभिन्न ‘क्राइटेरिया’ पूरा हुनुपर्छ, त्यो हुने सम्भावना तत्काल देखिँदैन,’ मौसमविद् मञ्जु बासीले भनिन्– ‘अझै करिव एक साता मनसुन सक्रिय रहने सम्भावना देखिन्छ ।’ दसैंभरि समेत फाट्टफुट्ट वर्षा कायम रहने आँकलन उनले गरेकी छन् ।

यतिबेला मनसुनी न्यूनचापीय रेखा औसत स्थानभन्दा दक्षिणतर्फ छ । केही दिनअघि सरेर उत्तर पुग्दा पनि विविध स्थानमा भारी वर्षा भएको थियो । यसरी मनसुनी रेखा यताउता सर्ने गर्दा आसपासका क्षेत्रमा हल्कादेखि भारी वर्षा कायम रहने उनले बताइन् । यसमा स्थानीय वायुको प्रभावले थप मद्दत पुर्‍याएको छ ।

महाशाखाले शुक्रबारसम्म पूर्वदेखि पश्चिमसम्म नै वर्षाको सम्भावना रहेको पूर्वानुमान गरेको छ । बिहीबारसम्म सामान्य बदली रही केही स्थानमा मध्यम वर्षा हुने जनाइएको छ । शुक्रबार भने मध्य तथा पूर्वका केही स्थानमा भारी वर्षा हुने महाशाखाले पूर्वानुमान गरेको छ ।

यस अवधिमा केही भेगमा स्थानीय नदी–खोला–खोल्सामा बाढी आउने र पहाडी भेगमा पहिराको सम्भावना रहेकाले सतर्क रहन भनिएको खबर चाँदनी हमालको बाइलाइनमा बिहीबारको गोरखापत्र दैनिकमा प्रकाशित छ ।

मिति परिवर्तन गर्नुहोस् [Date Converter]–


Powered by © nepali date converter

फेसबुकबाट न्युजकोसेलीसँग जोडिनुहोस्–

आजको विनिमय दर