newskoseli.Com

जंगली हात्ती धपाउन नेपालीले नै बनाएको ड्रोन साइरनको सहारा !

फाइल तस्बिर

झापामा जङ्गली हात्ती धपाउनका लागि प्रयोग गरिएको ड्रोन साइरनको परीक्षण सफल भएको छ । बुधबार राति मेचीनगर– १४ मा हात्तीले किसानको खेतमा पसेर धान खाइरहेका बेला ड्रोन साइरनको प्रयोग गरी हात्तीलाई हातेमालो सामुदायिक वनतिर खेदाइएको डिभिजन वन कार्यालयका प्रमुख विष्णुलाल घिमिरेले बताए ।

धान पाकेसँगै दैनिक गाउँ पसेका हात्तीलाई लेखट्न समस्या भइरहेको अवस्थामा ड्रोन साइरनको प्रयोग प्रभावकारी हुने देखिएको उनले बताए । सो साइरन भद्रपुर नगरपालिका– १ का युवा वैज्ञानिक अनिल प्रधानले बनाएका हुन् । ड्रोन साइरनबाट हात्ती लेखट्न सजिलो भएसँगै यसबारे स्थानीय तहमा जानकारी दिन थालिएको छ । भद्रपुर, विर्तामोड, मेचीनगर नगरपालिकालगायतका क्षेत्रमा जङ्गली हात्तीले दुःख दिन थालेपछि प्रधानले हात्ती धपाउन प्रयोग गर्न सकिने ड्रोन साइरन बनाएका हुन् ।

ड्रोनले सिंहको गर्जन र मौरी भुनभुनाएजस्तो चर्को आवाज निकाल्ने हुँदा यो सुनेर हात्ती भाग्छ । हात्ती धपाउन सिंहको आवाज सुनाउने ड्रोनको प्रयोग प्रभावकारी देखिए पनि जिल्ला प्रशासन कार्यालयबाट भने कसैले पनि अनुमति नलिएको प्रमुख जिल्ला अधिकारी उदयबहादुर रानाले बताए । सम्बन्धित व्यक्ति वा संस्थाले जिल्ला प्रशासन कार्यालयबाट इजाजत लिई तोकेको मापदण्डभित्र रहेर मात्र ड्रोन प्रयोग गर्न पाइने व्यवस्था रहेको खबर राससले प्रेषित गरेको छ ।

मिति परिवर्तन गर्नुहोस् [Date Converter]–


Powered by © nepali date converter

फेसबुकबाट न्युजकोसेलीसँग जोडिनुहोस्–

आजको विनिमय दर