गायिका आस्था राउत र प्रहरी जवान रमिता श्रेष्ठबीच त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलमा भएको ‘भनाभन’ लाई कठोर सजाय हुन सक्ने गरी अनुसन्धान गर्न स्थानीय प्रशासनले निर्देशन दिएको छ ।
राउतमाथि मुलुकी अपराध संहिता, २०७४ को दफा ११८ अनुसार कारबाही गर्न प्रशासनले अनुमति दिएको छ । कसुर पुष्टि भए १ वर्षसम्म कैद वा १० हजार रुपैयाँ जरिवाना वा दुवै सजाय हुन सक्ने व्यवस्था उक्त दफामा छ । सुरक्षा र कानुन मामिलाका जानकारहरुले भनाभन आचरण–व्यवहारसँग जोडिएको तर प्रशासनले अपराधका रुपमा डिल गरेको टिप्पणी गरेका छन् ।
दूई पक्षबीच मिलापत्र गराएर राउतलाई आफन्त वा आबद्ध संस्थाको जिम्मा लगाउन सकिने बाटो हुँदाहुँदै प्रशासनले प्रतिशोध साध्न अपराध आरोप लगाएको उनीहरुको भनाइ छ । राउतबाट आफूमाथि अभद्र व्यवहार भएको भन्दै जवान श्रेष्ठले शुक्रबार महानगरीय प्रहरी परिसर काठमाडौंमा उजुरी दिएकी थिइन् । सोही आधारमा प्रहरीले कठोर सजाय हुन सक्ने बाटो रोजेको खबर सोमबारको कान्तिपुर दैनिकमा प्रकाशित छ ।