नेपाल प्रहरीको केन्द्रीय अनुसन्धान ब्युरो (सीआईबी) ले ललितानिवास (बालुवाटार) जग्गा हिनामिना छानबिन प्रतिवेदन प्रहरी प्रधान कार्यालय हुँदै गृह मन्त्रालयलाई बुझाएको छ । ब्युरोले काठमाडौं महानगरपालिका– ४, बालुवाटारस्थित ललितानिवास आसपासमा रहेको सरकारी जग्गा हिनामिनासम्बन्धमा छानबिन गरी गृह मन्त्रालयलाई प्रतिवेदन बुझाएको हो ।
२०७५ फागुन २८ को मन्त्रिपरिषद बैठकको निर्णयअनुसार अनुसन्धान कार्य सीआईबीलाई दिएकाले सीआईबीले अनुसन्धान गरेर प्रतिवेदन मन्त्रालयमा बुझाएको ब्युरोका प्रवक्ता प्रहरी उपरीक्षक बेलबहादुर पाण्डेले जानकारी दिए । सरकारी जग्गा व्यक्तिले हिनामिना गरेको तथ्य फेला पारेपछि मन्त्रिपरिषदले सीआईबीलाई अनुसन्धानको जिम्मेवारी दिएको थियो ।
प्रतिवेदन तयार पार्न सीआईबीले झन्डै ११ महिना लगाएको खबर राससले प्रेषित गरेको छ ।