नेपालमा कोरोनाभाइरस (कोभिड– १९) का ११ जना संक्रमित एकै दिन थपिएका छन् । कोरोना संक्रमितको संख्या सोमबारसम्म ३१ जना रहेकामा यो संख्या मंगलबार एकै दिन ४२ पुगेको छ । संक्रमितमध्ये हालसम्म ५ जना भने निको भएर घर फर्किसकेका छन् भने ३७ जना उपचाररत छन् ।
उदयपुरका ९ पुरुष र २ महिला गरी थप ११ जनामा मंगलबार कोरोनाभाइरसको संक्रमण पुष्टि भएको जानकारी स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले दिएको छ । उदयपुरबाट संकलन गरिएको नमूना धरानस्थित बीपी कोइराला स्वास्थ्य विज्ञान प्रतिष्ठानको प्रयोगशालामा परीक्षण गर्दा ८ जनामा कोरोना पोजेटिभ पुष्टि भएको मन्त्रालयले जनाएको छ । काठमाडौंस्थित राष्ट्रिय जनस्वास्थ्य प्रयोगशालामा परीक्षण गर्दा मंगलबारै थप ३ जनामा पनि कोरोनाभाइरस पुष्टि भएको हाे ।
उदयपुरकाे भुल्केमै २४ जनामा काेराेना
स्वास्थ्य मन्त्रालयका प्रवक्ता डा. विकास देवकोटाका अनुसार पीसीआर परीक्षणका लागि उदयपुरका सय जनाको नमूना संकलन भएको छ । यीमध्ये मंगलबार ११ जनामा संक्रमण पुष्टि भएको हो ।
वैशाख ५ मा उदयपुरकाे भुल्केस्थित मस्जिदमा भेटिएका ११ भारतीय र १ नेपाली गरी १२ जनामा कोरोना संक्रमण पुष्टि भएको थियो । ६ वैशाखमा त्यहींका थप १ जनामा र मंगलबार अरू ११ जनामा गरी २४ जनामा कोरोना संक्रमण पुष्टि भएको छ ।
निकाे हुनेकाे संख्या ५ पुग्याे
धनगढी उपमहानगरपालिका– ५, कैलालीका ३४ वर्षीय युवक अस्पताल भर्ना भएको २८ औं दिनमा निको भएर मंगलबार साँझ घर फर्किएका छन् । उनी घर गएसँगै निकाे हुने काेराेना संक्रमितकाे संख्या ५ पुगेकाे हाे । चैत ११ मा सेती प्रादेशिक अस्पताल भर्ना भएका उनमा चैत १४ मा कोरोना संक्रमण पुष्टि भएको थियो ।
तीन वटा रिपोर्ट पोजिटिभ आएको उनका उपचारपछि पछिल्ला दुई वटा रिपोर्ट नेगेटिभ आए । दुबईबाट दिल्ली हुँदै चैत ७ मा काठमाडौं पुगेका शाही ८ चैतमा बुद्ध एयरको जहाजबाट नेपालगञ्ज पुगेका थिए । स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले मंगलबारकाे विवरणमा भने उनी निकाे भएकाे व्यहाेरा र संख्या समावेश गरेकाे छैन ।