newskoseli.Com

थप ८ जनामा संक्रमण पुष्टि : १०९ मा कोरोना, ३१ निकाे भए, ३ जनामा दाेहाेरियाे

कोरोनाभाइरस (कोभिड– १९) संक्रमितको संख्या १०९ पुगेको छ । काठमाडौंस्थित राष्ट्रिय जनस्वास्थ्य प्रयोगशाला र कोशी अस्पतालमा गरिएको परीक्षणबाट शनिबार थप ७ जनामा कोरोना संक्रमण पुष्टि भएसँगै संक्रमितको संख्या १०९ पुगेको स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले जनाएको छ । यसअघि शुक्रबार एक जनामा कोरोना संक्रमण पुष्टि भएको थियो ।

स्वास्थ्य मन्त्रालयका सहप्रवक्ता डा. समिरकुमार अधिकारीका अनुसार त्रियुगा नगरपालिका– ३, भुल्के, उदयपुरमा थप तीन जना महिलामा कोरोनाभाइरसको संक्रमण देखिएको छ । भुल्केका १८, ४५ र ६० वर्षीया महिलामा संक्रमण फेला परेको हो । भुल्केमा पछिल्लो पटक थ्रोट स्वाब संकलन गरिएका ३ सय ३४ जनामध्ये विराटनगरस्थित कोशी अस्पतालको पीसीआर ल्याबमा गरिएको परीक्षणमा तीन जनामा संक्रमण देखिएको सो अस्पतालकी मेडिकल सुपरिटेन्डेन्ट डा. संगीता मिश्रले बताइन् । अन्यको स्वाब परीक्षण जारी रहेको उनले बताइन् ।

त्यस्तै, राष्ट्रिय जनस्वास्थ्य प्रयोगशालामा गरिएको परीक्षणमा कपिलवस्तुका एक जना १७ वर्षीय र दुई जना १८ वर्षीय युवकमा कोरोना संक्रमण देखिएको छ । पर्साको छपकैयाका ६२ वर्षीय पुरुषमा पनि कोरोना संक्रमण देखिएको छ । यसअघि शुक्रबार एक जनामा कोरोना संक्रमण पुष्टि भएको थियो । नेपालगञ्ज उपमहानगरपालिका– ८, बाँकेस्थित कोरोना सङ्क्रमित जोलाहनपूर्वा टोलका १६ वर्षीय युवकमा शुक्रबार काेराेना पोजेटिभ पुष्टि भएको हाे । सबैको स्वास्थ्य अवस्था सामान्य रहेको पनि मन्त्रालयले जानकारी दिएको छ ।

कोरोना संक्रमण पुष्टि भएर निको हुनेको संख्या ३१ पुगेको छ । तर, नारायणी अस्पताल वीरगञ्जबाट कोभिड– १९ निको भएर घर गएका दुई जनाको पीसीआर परीक्षणमा पोजिटिभ देखिएपछि उनीहरूलाई अस्पतालमा पुनस् भर्ना गरिएको छ । त्यसैगरी, काठमाडौंस्थित सनसिटी अपार्टमेन्टमा बस्ने ५२ वर्षीय व्यक्तिको पनि पीसीआर रिपोर्ट पोजिटिभ देखिएको छ । पाटन अस्पतालमा उपचारपछि डिस्चार्ज भएका उनलाई पनि पुनस् सोही अस्पताल भर्ना गरिएको छ ।

मिति परिवर्तन गर्नुहोस् [Date Converter]–


Powered by © nepali date converter

फेसबुकबाट न्युजकोसेलीसँग जोडिनुहोस्–

आजको विनिमय दर