सोमबार एकै दिन नेपालमा २४ जना कोरोना संक्रमितको पुष्टि भएको छ । बिहान १० जना संक्रमित पुष्टि भएको केही बेरमा थप एक जना र साँझ अरु १३ जनामा कोरोना संक्रमण पुष्टि भएको छ ।
सोमबार साँझ कपिलवस्तुमा ६, रुपन्देहीमा ६ र बर्दियामा १ जनामा कोरोना संक्रमण पुष्टि भएको स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले जानकारी दिएको छ । राष्ट्रिय जनस्वास्थ्य प्रयोगशालामा गरिएको परीक्षणबाट कोरोना संक्रमण पुष्टि भएको मन्त्रालयका सहप्रवक्ता डा. समीरकुमार अधिकारीले जानकारी दिएका हुन् ।
कपिलवस्तुको यशोधरा गाउँपालिका– ८ र बुद्धभूमि नगरपालिका– ७ का १५, १९, २३, ३०, ३२ र ३८ वर्षका पुरुष र रुपन्देहीको सम्मरीमाई गाउँपालिका– ७ र लुम्बिनी सांस्कृतिक गाउँपालिका– ६ का २४, २६, २७, ३०, ३२ र ४० वर्षका पुरुष तथा बर्दियाको राजापुर नगरपालिका– ५ कि ११ वर्षीया बालिकामा कोरोना संक्रमण पुष्टि भएको हो ।
यसअघि सोमबार बिहान कपिलवस्तुमा १० जनामा र सप्तरीका एक युवकमा कोरोना संक्रमण पुष्टि भएको थियो । सोमबार अपराह्न थप १३ जनामा पुष्टि हुँदा नेपालमा एकै दिन २४ जनामा कोरोना संक्रमण पुष्टि भएको हो ।
सोमबार कपिलवस्तुमा मात्र १६ जनामा कोरोना संक्रमण पुष्टि भएको छ । रुपन्देहीमा यसअघि एक जना संक्रमित देखिएकामा सोमबार ६ जना थपिएका हुन् । त्यसैगरी, बर्दियामा पहिलो पटक कोरोना संक्रमण पुष्टि भएको छ । यसरी सोमबार साँझसम्म देशभर गरी जम्मा कोरोना संक्रमितको संख्या १३४ पुगेको छ ।