मंगलबार एकै दिन नेपालका विभिन्न ठाउँमा गरी ८३ जनामा कोरोनाभाइरसको संक्रमण पुष्टि भएको छ । यो संख्यासँगै नेपालमा जम्मा कोरोना संक्रमितको संख्या २१७ पुगेको छ । र, यीमध्ये ३४ जना उपचारपछि निको भएर घर फर्किसकेका छन् भने बाँकी १८३ जना उपचाररत छन् ।
मंगलबार राजधानी उपत्यकामा समेत ३ जनामा संक्रमण पुष्टि भएको छ । मंगलबार दिउँसो १ः१० बजे स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले ५७ जनामा संक्रमण पुष्टि भएको जनाएको थियो भने राति १०ः१५ बजे फेरि थप २६ जनामा संक्रमण पुष्टि भएको विवरण सार्वजनिक भएको हो । मन्त्रालयले राति सार्वजनिक गरेको विवरणअनुसार भक्तपुरमा २५ वर्षीया महिला र २७ वर्षीय पुरुष तथा काठमाडौंमा ३३ वर्षीया महिलामा कोरोना संक्रमण पुष्टि भएको छ ।
पछिल्लो विवरणअनुसार पर्सामा २२, २८, २८, ३२, ४५ र ६० वर्षीया महिला तथा १६, २२, २४, २५, २५, २८, २८, ३२, ५५, ५९, ६१ र ६१ वर्षीय पुरुष गरी १८ जनामा कोभिड– १९ को संक्रमण पुष्टि भएको छ । यसैगरी, महोत्तरीमा १६ र ३५ वर्षीय पुरुष, धनुषामा २० वर्षीया महिला र ४० वर्षीय पुरुष तथा सर्लाहीका ४५ वर्षीय पुरूषमा पनि कोरोना संक्रमण पुष्टि भएको छ ।