नेपालमा कोरोनाभाइरसका संक्रमितको संख्या ७ सय ७२ पुगेको छ । मंगलबार मात्रै ९० जना नयाँ संक्रमित थपिएका छन् । मंगलबारसम्मको रेकर्डअनुसार कोभिड– १९ को संक्रमण ४६ जिल्लामा फैलिएको छ ।
मंगलबार पुष्टि भएकामध्ये दूई वर्षिया बालिकामा समेत संक्रमण देखिएको छ । स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका प्रवक्ता डा. विकास देवकोटाले नियमित मेडिया ब्रिफिङमा जनाएअनुसार राष्ट्रिय जनस्वास्थ्य प्रयोगशालामा गरिएको पीसीआर परीक्षणमा ३५ जनाको रिपोर्ट पोजेटिभ आएको छ । महोत्तरीका २ जना, जुम्ला स्थायी ठेगाना भई बारामा कार्यरत २ जना, बाराकै ३ जना, रौतहटका २१ र सिरहाका ५ जनामा कोरोना पोजेटिभ देखिएको उनले बताए । त्यस्तै जनकपुर अस्पतालमा उपचाररत धनुषाका एक पुरुषमा पनि कोरोना पोजेटिभ पुष्टि भएको छ ।
भेरी अस्पतालको प्रयोगशालामा गरिएको परीक्षणमा बाँकेका ७ जनाको रिपोर्ट पोजेटिभ आएको छ । राप्ती स्वास्थ्य विज्ञान प्रतिष्ठानमा गरिएको परीक्षणमा कपिलवस्तुका २४ जनाको रिपोर्ट पोजेटिभ आएको छ, जसमा २ वर्षिया बालिका समेत रहेकी छन् । रुपन्देहीको प्रादेशिक अस्पतालमा कपिलवस्तुकै ७ जनामा संक्रमण पुष्टि भएको छ भने अर्घाखाँचीका २, गुल्मीका २ संक्रमित पुष्टि भएका छन् । सेती प्रादेशिक अस्पतालमा भएको परीक्षणमा कैलालीका १ र अछामका १ जनामा संक्रमण पोजेटिभ देखिएको छ ।
पोखरामा भएको परीक्षणमा स्याङ्जाका २ जनामा पोजेटिभ देखिएको छ । सुर्खेत प्रादेशिक अस्पतालमा भएको परीक्षणमा सुर्खेतका १२ जनामा कोरोना पोजेटिभ देखिएको छ । हालसम्म पीसीआर विधिबाट ५४ हजार ४ सय २४ नमूना परीक्षण गरिएको छ । प्रवक्ता देवकोटाले जनाएअनुसार पछिल्लो २४ घन्टामा ३ हजार ७ सय ८२ जनाको पीसीआर विधिबाट नमूना परीक्षण गरिएको छ ।
मंगलबार साँझसम्मकाे विवरणअनुसार यसअघि काेराेना संक्रमण पुष्टि भएकामध्ये कूल १५५ जना निकाे भएर अस्पतालबाट डिस्चार्ज भैसकेका छन् ।
भिडियोमा हेर्नोस् प्रवक्ता देवकोटाका ब्रिफिङ–
https://www.facebook.com/mohpnep/videos/964936423939374/