दैलेखको दुल्लु नगरपालिकास्थित क्वारेन्टिनमा मृत्यु भएका युवकमा कोरोना भएको पुष्टि भएको छ । वडा नं ११ स्थित कालभैरवको क्वारेन्टिनमा शनिबार बिहान मृत्यु भएका ३५ वर्षीय युवकको पीसीआर परीक्षणको पोजेटिभ रिपोर्ट शनिबार नै आएको हो ।
कर्णाली स्वास्थ्य विज्ञान प्रतिष्ठान जुम्लामा गरिएको पीसीआर परीक्षणमा रिपोर्ट पोजेटिभ आएको नगरप्रमुख घनश्याम भण्डारीले जानकारी दिए । उनको स्वाब बिहीबार सङ्कलन गरिएको थियो । जेठ ७ मा भारतबाट आएका उनीसहितको टोलीलाई विद्युत् प्राधिकरणको भवनमा निर्माण गरिएको क्वारेन्टिनमा राखिएको थियो ।
मृतक युवकको शव के गर्ने भन्नेबारे जिल्ला प्रशासनसँग सहकार्य भइरहेको नगरप्रमुख भण्डारीले बताए । कर्णाली प्रदेशमा कोरोनाबाट मृत्यु हुनेमा उनी नै पहिलो हुन् । योसँगै नेपालमा कोरोनाबाट मर्नेको संख्या ७ पुगेको छ । रासस