आइतबार अपराह्न ४ बजे प्रधानमन्त्रीको सरकारी निवास बालुवाटारमा सत्ताधारी नेकपाको केन्द्रीय सचिवालयको बैठक बस्दै छ । सचिवालय सदस्यहरूका अतिरिक्त एमसीसी अध्ययन कार्यदलका सदस्यहरू भीमबहादुर रावल र प्रदिपकुमार ज्ञवालीका साथै अर्थमन्त्री डा युवराज खतिवडा समेत आमन्त्रित सो बैठकले बहुविवादित एमसीसी प्रकरणबारे ‘वारपार’ गर्ने बताइएको छ ।
अमेरिकी अनुदान सहायता परियोजना एमसीसीबारे निर्णायक छलफल गर्ने भनी यसअघि २७ जेठमा बोलाइएको सचिवालय बैठकमा एमसीसीका पक्षधरहरू अल्पमतमा पर्ने पहिल्यै स्पष्ट देखिएपछि अध्यक्ष एवं प्रधानमन्त्री खड्ग ओलीले एकाएक सो बैठक स्थगित गरिदिएको खबर प्रकाशमा आएको थियो ।
एमसीसीको पक्ष–विपक्षमा विवाद चर्किएपछि त्यसलाई टुंग्याउन भनी जेठ १७ मा बसेको सो पार्टीको सचिवालय बैठक विनानिष्कर्ष सकिएको थियो । एमसीसी खारेज नै गर्नुपर्ने, परिमार्जनसहित अनुमोदन गर्नुपर्ने र यथास्थितिमै हुबहु अनुमोदन गर्नुपर्ने तीनथरी मतहरुको विवादमा फसेको नेकपाले कुनै निर्णय लिन सकेको छैन ।