कुश्मा नगरपालिका– ३, दुर्लुङ, पर्वतमा शनिबार राति गएको पहिरोमा पुरिएर ९ जना बेपत्ता भएकामा ५ जनाको शब फेला परिसकेको छ भने ४ जना अझै बेपत्ता रहेका छन् । पुरिएका ९ जनामध्ये ३ जनाको शब राति नै र २ जनाको शब आइतबार बिहान भेटिएको हो ।
स्थानीय तुलबहादुर थापा र कमला विकको घर पहिरोमा पुरिँदा ९ जना बेपत्ता भएका थिए । पहिरोमा पुरिएका तुलबहादुर थापाको घरमा पुरिएका थापासहित नीलकुमारी थापा, दीपा थापा र विविशा थापा तथा कमला विकको घरमा कमलाकै शव भेटिएको प्रहरीले जनाएको छ । कुश्मा नगरपालिका– ३ का वडा अध्यक्ष तेजप्रसाद पाध्याका अनुसार बिहानसम्म ५ जनाको शव भेटिएको छ भने ४ जना अझै बेपत्ता छन् ।
थापाको घरका दुई जना र विकको घरका दुई जना बेपत्ता नै रहेकाले खोजीकार्य तीव्र पारिएको पाध्याको भनाइ छ । राति पनि भीषण वर्षा भएको र अँध्यारोका कारण खोजी गर्न कठिन भएकाले बिहानैदेखि नेपाल प्रहरी, नेपाली सेना र स्थानीयको सक्रियतामा खोजीकार्य तीव्र पारिएको वडा अध्यक्ष पाध्याले बताए ।
राति दुई बजेसम्म खोजी गर्दा ३ जनाको र बिहान थप २ जनाको शव भेटिएको र बेपत्ता ४ जनाको उद्धारमा भने नेपाल प्रहरी, सशस्त्र प्रहरी, नेपाली सेना र स्थानीयको टोली खटिएको जिल्ला प्रहरी कार्यालय पर्वतका प्रमुख डीएसपी विश्वराज अधिकारीले जानकारी दिए । स्थानीय सागर गिरीका अनुसार पहिरो धेरै माथिको जङ्गलबाट खसेको हो । घरमाथि ठूलठूला बारीका पाटा तथा समथर खरबारी भए पनि पहिरोले ती सबै बगाएको छ । ‘पहिरो जानेजस्तो भूगोल नै छैन, पहिरो सुरु भएको माथिल्लो भागमा पनि ठूलठूला बारीका पाटा छन्, तल पनि बारी तथा समथर खरबारी छ तर ती सबै बगाएर लगेको छ’– गिरीले भने ।