संघीय प्रतिनिधिसभाका सांसदहरूले मंगलबार सदनमा बोल्दै कोरोना महामारी र लकडाउनको मारमा परेका जनतालाई प्रभावकारी राहतको व्यवस्था गर्न र दिनानुदिन बढिरहेको महामारी नियन्त्रणका थप उपाय अवलबन गर्न सरकारसमक्ष प्रस्ताव गरेका छन् ।
लकडाउनभरको अवधिलाई शून्य समय मानेर राहतको व्यवस्था गर्न कांग्रेस सांसद मिनबहादुर विश्वकर्माले सुझाए । उनले भने– ‘लकडाउनभरिको आर्थिक कारोबार र दायित्वबारे सर्वत्र विवाद, बहस र अन्योल देखिएकाले लकडाउन सुरुदेखि अन्तिमसम्मको अवधिलाई शून्य समय मानेर सबै वर्गलाई राहत पुग्ने गरी प्याकेजको व्यवस्था गर्नुपर्छ ।’
लकडाउन सुरु गरेदेखि अन्तिम दिनसम्मको अवधिलाई शून्य समय मानेर व्यापार–व्यवसाय रहेका घरधनीले यो समयको घरभाडा नलिने निर्णय गनुपर्नेमा उनले जोड दिए । ‘घरधनीसँग बैंकले ब्याज लिनुभएन, यो अवधिमा सरकारले कर नलिऔं,’ उनले भने– ‘विद्यालयले विद्यार्थीसँग शुल्क नलिऔ, निजी विद्यालयका शिक्षकहरुलाई पनि सामुदायिक विद्यालयका शिक्षकसरह सरकारले तलब भुक्तानी गरोस् ।’
‘दैनिक वा मासिक ज्यालादारी गर्ने मजदुरलाई मासिक ७ हजार नगद राहत दिने व्यवस्था गरोस्,’ सांसद विश्वकर्माले भने– ‘होटल–रेस्टुरेन्ट र क्याफेलाई सुलभ ब्याजमा पुनः सञ्चालन कर्जा दिने निर्णय गरोस्, उद्योग सञ्चालन नभएको अवस्थामा आधा तलब दिने निर्णय उद्योगले गरोस् ।’
कांग्रेसकै अर्का सांसद भीमसेनदास प्रधानले कोरोनाभाइरसको संक्रमण बढ्दै गएकाले नियन्त्रणका लागि कोरोना महामारी रहुन्जेल शनिबार र आइतबार गरी सातामा दुई दिन बिदा दिन माग गरे । लकडाउन खुकुलो बनाउँदा सवारी साधनहरुको चापसँगै सर्वसाधरणको चहलपहल समेत बढेकाले शनिबार र आइतबार बिदा दिने व्यवस्था गर्न उनले माग गरे ।