newskoseli.Com

रानीपोखरीको पिँध र पर्खाल तयार : अब पानी जम्मा गर्न थालियाे

रानीपोखरीको पिँधमा कालो माटो र इँट्टा ओछ्याउने र पानी रहने भागको पर्खाल निर्माणको काम सकिएको राष्ट्रिय पुनर्निर्माण प्राधिकरणले जनाएको छ ।

पाँच वर्षअघिको भूकम्पले क्षति पुगेको रानीपोखरी पुनर्निर्माणअन्तर्गत उपभोक्ता समितिमार्फत पिँध र पानी रहने भागको पर्खाल निर्माणको काम गराइएको हो । आफ्नो जिम्मेवारीमा रहेको काम सम्पन्न भएको प्राधिकरणलाई सोमबार औपचारिक जानकारी दिने उपभोक्ता समितिका अध्यक्ष अजयरत्न स्थापितले बताए ।

२०७५ फागुनमा गठन गरिएको उपभोक्ता समितिले पोखरीको सतह र वरिपरिको पर्खालमा १५ देखि १८ इञ्च कालो माटो हालेर त्यसमाथि इँट्टा ओछ्याएको हो । गतवर्ष वैशाख १२ मा (भूकम्पको पाँच वर्ष पुगेको दिनअगावै) यो काम सक्ने तालिका भए पनि कोभिड– १९ को महामारी रोकथाम तथा न्यूनीकरणका लागि सरकारले लागू गरेको लकडाउनका कारण काम प्रभावित भएको थियो ।

पिँध र पानी रहने पर्खालको काम सकिएपछि अब रानीपोखरीमा वर्षाको पानी जम्मा गर्न मिल्ने भएको छ । सोझै आकाशबाट त्यहाँ पर्ने पानीका साथसाथै त्रिचन्द्र कलेज र दरबार हाइस्कुल क्षेत्रको आकाशे पानी समेत सङ्कलन एवं प्रशोधन गरेर पोखरीमा पानी राख्न प्राथमिकता दिने तयारी भएको प्राधिकरणका प्रमुख कार्यकारी अधिकृत सुशील ज्ञवालीले बताए । त्यसपछि पानी नपुग भएमा भूमिगत स्रोतबाट राख्ने व्यवस्था मिलाउने पनि उनले जानकारी दिए ।

दरबार हाइस्कुलको छानाको पानी पोखरीमा खसाल्ने प्रबन्ध मिलाइसकिएको छ । टुँडिखेलमा जम्मा भएको पानी ल्याउनका लागि पाइप बिछ्याउने काम पनि भइसकेको रानीपोखरी पुनर्निर्माण हेरिरहेका सम्पदाविज्ञ राजुमान मानन्धरले बताए । यी व्यवस्थाबाट पनि पानी पर्याप्त नभए मेलम्चीको पानी पाइपमा हालेर परीक्षण गर्दा रानीपोखरीमा खसाल्ने अन्तिम विकल्प पनि प्राधिकरणले अघि सारेको छ ।

रानीपोखरीको पिँध पुनर्निर्माणका लागि सुरुमा भक्तपुरबाट कालीगढ ल्याइएको थियो । पछि सिप हस्तान्तरण गरी काठमाडौंका कालीगढ पनि सहभागी भएका थिए । रानीपोखरीको बीचमा रहेको बालगोपालेश्वरको मन्दिर, त्यहाँसम्म जाने पुल तथा पोखरी वरिपरिको सौन्दर्यकरणको काम भने अझै जारी छ । यी काम सीए–तुलसी कन्ट्रक्सन जेभीले गरिरहेको छ ।

ठेक्काको करिव ८५ प्रतिशत काम सम्पन्न भइसकेको प्राधिकरणका प्रवक्ता गोपाल अर्यालले जानकारी दिए । बाँकी काम छिटो सम्पन्न गर्न निर्माण कम्पनीलाई आवश्यक पर्ने सबै सहजीकरण गरिरहेको उनले बताएको खबर राससले प्रेषित गरेको छ ।

मिति परिवर्तन गर्नुहोस् [Date Converter]–


Powered by © nepali date converter

फेसबुकबाट न्युजकोसेलीसँग जोडिनुहोस्–

आजको विनिमय दर