नेपालमा कोरोनाभाइरसका संक्रमितको संख्या ४९,२१९ पुगेको छ । यीमध्ये ३१२ जनाको मृत्यु भैसकेको छ र ३३,८८२ जना आइसोलेसनबाट डिस्चार्ज भएर घर गएका छन् भने १५,०२५ जना सक्रिय संक्रमित आइसोलेसनमा छन् ।
स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका प्रवक्ता प्राडा जागेश्वर गौतमले बुधबारको नियमित मेडिया ब्रिफिङमा दिएको जानकारीअनुसार पछिल्लो २४ घन्टामा काठमाडौंका ३९४, ललितपुरका ४३ र भक्तपुरका ३६ गरी राजधानी उपत्यकामा ४६४ सहित देशभरबाट थप १,०८१ जनामा कोरोनाभाइरसको संक्रमण पुष्टि भएको छ । देशभरका विभिन्न प्रयोगशालामा ११,१६७ जनाको पीसीआर परीक्षण गर्दा ३३८ महिला र ७४३ पुरूषमा संक्रमण पुष्टि भएको मन्त्रालयले जनाएको छ ।
पछिल्लो २४ घन्टामा कास्की, अर्घाखाँची, बाँके र नवलपरासीमा १–१ तथा काठमाडौंमा २ जना गरी ६ जना कोभिड– १९ का संक्रमितको मृत्यु भएको छ भने ९१८ जना आइसोलेसनबाट डिस्चार्ज भई आ–आफ्नो घर गएका छन् । सक्रिय संक्रमितमध्ये ७,९८८ जना संस्थागत आइसोलेसनमा र ७,०३७ जना होम आइसोलेसनमा रहेको प्रवक्ता गौतमले जनाएका छन् ।
भिडियोमा हेर्नोस् प्रवक्ता गौतमको ब्रिफिङ–
https://www.facebook.com/mohpnep/videos/3313932972165912/