नेपालमा अहिलेसम्मका सबै रेकर्ड तोड्दै पछिल्लो २४ घन्टामा २ हजार २० जनामा कोरोनाभाइरसको संक्रमण पुष्टि भएको छ । ११ हजार ४ सय ५८ जनाको पीसीआर परीक्षण गर्दा यो संख्याका संक्रमितको पुष्टि भएको स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले जनाएको छ ।
पछिल्लो २४ घन्टामा काठमाडौमा ६९८, भक्तपुरमा ८२ र ललितपुरमा ७९ जना गरी राजधानी उपत्यकामा मात्रै थप ६९८ जनामा कोरोनाभाइरसको संक्रमण पुष्टि भएको छ । हालसम्म कोरोना संक्रमितको कूल संख्या ६१,५९३ पुगेको छ भने यीमध्ये ३९० जनाको मृत्यु भैसकेको छ र ४३,८२० जना आइसोलेसनबाट डिस्चार्ज भएका छन् ।
मन्त्रालयका प्रवक्ता प्राडा जागेश्वर गौतमले शुक्रबारको नियमित मेडिया ब्रिफिङमा दिएको जानकारीअनुसार यतिबेला देशभर १७ हजार ३ सय ८३ जना सक्रिय संक्रमित छन् । यीमध्ये ९ हजार २ सय ९५ जना संस्थागत आइसोलेसनमा र ८ हजार ८८ जना होम आइसोलेसनमा रहेका छन् । १ सय ७३ जना आईसीयूमा र ३६ जना भेन्टिलेटरमा उपचाररत छन् ।
यतिबेला मोरङ, सिरहा, सुनसरी, ललितपुर, मकवानपुर, चितवन, काठमाडौं, भक्तपुर र रुपन्देहीमा ५ सय जनाभन्दा बढी संक्रमित छन् भने सोलुखुम्बू, मुस्ताङ, डोल्पा, रसुवा, हुम्ला र मुगुमा संक्रमित संख्या शून्य छ ।
भिडियोमा हेर्नोस् प्रवक्ता गौतमको ब्रिफिङ–
https://www.facebook.com/mohpnep/videos/722718431919905/