नेपालमा कोरोनाभाइरसका संक्रमितको संख्या ७१,८२१ पुगेको छ । यीमध्ये ४३७ जनाको मृत्यु भैसकेको छ भने ५३,०४३ जना आइसोलेसनबाट डिस्चार्ज भएका छन् र १८,३४१ जना सक्रिय संक्रमित आइसोलेसनमा छन् ।
स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका प्रवक्ता प्राडा जागेश्वर गौतमले शनिबारको नियमित मेडिया ब्रिफिङमा दिएको जानकारीअनुसार पछिल्लो २४ घन्टामा देशका विभिन्न प्रयोगशालामा १०,०१९ जनाको पीसीआर परीक्षण गर्दा काठमाडौंमा ५८३, भक्तपुरमा ६३ र ललितपुरमा ७८ जना गरी राजधानी उपत्यकामा ७२४ सहित देशभर १२०७ जनामा कोरोनाभाइरसको संक्रमण पुष्टि भएको छ । काठमाडौंका संक्रमितमध्ये १९९ महिला र ३८४ पुरुष रहेको मन्त्रालयले जनाएको छ ।
सक्रिय संक्रमितमध्ये ७,८३३ जना संस्थागत आइसोलेसनमा र १०,५०८ जना होम आइसोलेसनमा रहेको प्रवक्ता गौतमको भनाइ छ । पछिल्लो २४ घन्टामा काठमाडौं उपत्यकाका ४ सहित देशभर थप ८ जना कोरोना संक्रमितको मृत्यु भएको छ । यी मृतक सबै पुरुष रहेको मन्त्रालयले जनाएको छ । पछिल्लो २४ घन्टामा १,१४७ जना आइसोलेसनबाट डिस्चार्ज भएको प्रवक्ता गौतमले बताएका छन् ।